बारा । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको विरोधमा आक्रोशित स्थानीयवासीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका भित्रका ग्रामीण सडकहरूसमेत बन्द गराएका छन्। जीतपुरसिमराका निजी तथा सामुदायिक विद्यालयहरूले बिहीबार शोक सभा गर्दै पठनपाठन ठप्प पारेका हुन्। क्रूर घटनाबाट शैक्षिक क्षेत्र स्तब्ध भएको भन्दै विद्यालयहरूले विज्ञप्ति जारी गरी दोषीलाई हदैसम्मको कारबाही माग गरेका छन्।
प्रहरीले समयमै ध्यान नदिएकाले बालिकाको हत्या भएको आरोप लगाउँदै स्थानीयले बुधबारदेखिको आन्दोलन बिहीबार पनि जारी राखेका हुन्। बिहानैदेखि सिमरा–डुमरवाना, पिलुवा–वडहर्वा, सिमरा–जीतपुर तथा पथलैया–सिमरा खण्डका ग्रामीण सडकहरूमा टायर बालेर प्रदर्शन भइरहेको छ भने वीरगञ्ज–पथलैया सडक खण्डमा यातायात पूर्ण रूपमा ठप्प छ।
बालिका हराएको बारे बुबाले समयमै जाहेरी दिँदा पनि इलाका प्रहरी कार्यालय सिमराले खोजीमा गम्भीरता नदेखाएको स्थानीयको आरोप छ। उनीहरूले इलाका प्रहरी कार्यालय सिमरा घेराउ गर्दै इन्चार्ज डीएसपी दिलिप क्षेत्रीलाई कारबाही गर्नुपर्ने माग राखेका छन्।
यसैबीच बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले दोषी पक्राउ परिसकेको र प्रहरीको लापरवाहीबारे सोधपुछ तथा पुष्टि गर्ने काम भइरहेको बताएका छन्। उनले आन्दोलनरत पक्षसँग निर्णायक वार्ताको तयारी भइरहेको जानकारी दिएका छन्।




