अत्तरियामा बसको ठक्करबाट ज्यान गुमाएकी सिन्की बोहराको शव अस्पतालमै, क्षतिपूर्तिमा सहमति जुटेन

प्रकाशित मिति:

कैलाली । कैलालीको अत्तरियामा बसको ठक्करबाट ज्यान गुमाएकी बझाङकी सिन्की बोहराको शव अझै सेती प्रादेशिक अस्पतालमा राखिएको छ। दोषीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिने विषयमा सोमबार भएको वार्तामा सहमति जुट्न नसकेपछि शव अस्पतालमै रहेको हो।

बझाङको मष्टा गाउँपालिका–६ घर भई हाल गोदावरी नगरपालिका–१ मा बस्दै आएकी बोहरालाई आइतबार महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको महाकाली यातायातको सुप प्र ०२–००१ ख ९५६ नम्बरको बसले अत्तरियामा ठक्कर दिएको थियो। उनी अत्तरिया बसपार्कमा पानी र भुजा बिक्री गर्दै आएकी थिइन्।

दुर्घटनापछि स्थानीय तथा मृतकका आफन्तले बस चालकलाई कडा कारबाहीको माग गर्दै आइतबार साँझ अत्तरिया बजारमा प्रदर्शनसमेत गरेका थिए।

दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग राखेर सोमबार इलाका प्रहरी कार्यालय मालाखेतीमा छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेन। इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी हीरा महराका अनुसार सहमति नभएपछि मङ्गलबार बिहान पुनः छलफलका लागि सम्बन्धित पक्षलाई बोलाइएको छ। मङ्गलबारको वार्ताबाट पीडित पक्ष र यातायात व्यवसायीबीच सहमति जुट्ने अपेक्षा गरिएको छ।

ताजा समाचार