काठमाडौं । रसुवाको बाढी-पहिरोले बगाएर नारायणी नदी किनारसम्म ल्याएका शवहरू राख्न ठाउँ अभाव भएपछि चितवन प्रशासनले कोल्ड स्टोर बनाएर व्यवस्थापनको तयारी थालेको छ। जिल्लामा ५० वटा शव मात्र राख्न सकिने क्षमता रहेको र नारायणी किनारमा एकै ठाउँ ४-५ वटासम्म शव भेटिन थालेपछि जिल्ला सुरक्षा संयन्त्रले प्रयोगमा नरहेको सरकारी भवन प्रयोग गर्न लागेको हो।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार कृषि सामग्री केन्द्रको भवनमा तापक्रम नियन्त्रण गरी शव राख्न कोल्ड स्टोर निर्माण भइरहेको छ।
नारायणी किनारमा आज बिहानैदेखि शवहरू तैरिएको अवस्थामा भेटिएका छन्। शवहरूको खोज तथा व्यवस्थापनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र भरतपुर महानगरपालिकाको नगर प्रहरी खटिएका छन्।





