कैलाली । कैलालीमा प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमतीसहित पाँच जनालाई पक्राउ गरेको छ।
लम्कीचुहा घर भई अमरावतीस्थित ससुरालीमा बस्दै आएका दीपक सुनारको हत्यामा संलग्न रहेको आरोपमा उनकै श्रीमती एमुना सुनार, उनका प्रेमी दुर्योधन सुवर्णकारसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार एमुना र दुर्योधनले योजना बनाई अन्य सहयोगीहरूसमेतको संलग्नतामा दीपकलाई जंगलतर्फ लगेर हतियार प्रहार गरी हत्या गरेका थिए। हत्यापछि शव कर्णाली नदीमा फालेको पक्राउ परेकाहरूले बयान दिएका छन्।
साउन २२ गते अमरावती जंगलमा रगतका दाग तथा शंकास्पद वस्तु फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको र कानूनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।





