कञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्लले स्वर्गीय आमा राजु देवी मल्लको स्मृतिमा स्थापना गर्नुभएको राजु देवी मल्ल स्मृति प्रतिष्ठानले रसुवा, धादिङ, नुवाकोटलगायतका क्षेत्रमा गत भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ।
बाढीका कारण प्रभावित परिवारको राहत, उद्धार तथा विपद् व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रतिष्ठानले उक्त रकम कोषमा प्रदान गरेको हो। प्राकृतिक विपद्का कारण जनधनको क्षति व्यहोरेका नागरिकलाई राज्यको राहत तथा उद्धार प्रयासमा थप सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको अध्यक्ष मल्लले एकपत्रलाई जानकारी दिनुभयो।
अध्यक्ष मल्लले विपद् कुनै निश्चित व्यक्ति, समुदाय वा क्षेत्रको मात्र समस्या नभई सबैको साझा चुनौती भएकाले यस्ता कठिन परिस्थितिमा आफ्नो क्षमताअनुसार सहयोग गर्नु सामाजिक दायित्व भएको बताउनुभयो। प्रतिष्ठानले आफ्नो तर्फबाट गर्न सकिने सहयोगमार्फत विपद्बाट प्रभावित नागरिकलाई राहत पुर्याउने प्रयास गरेको उहाँको भनाइ छ।
राजु देवी मल्ल स्मृति प्रतिष्ठान सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय रहँदै आएको संस्था हो। स्वर्गीय आमाको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले विभिन्न समयमा असहाय, विपन्न तथा संरक्षणविहीन व्यक्तिका लागि सहयोग तथा सामाजिक सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
यसअघि कोभिड–१९ महामारीका समयमा बन्दाबन्दीबाट प्रभावित दैनिक ज्यालादारी मजदुर, अति विपन्न तथा असहाय परिवारलाई खाद्यान्न तथा भोजन उपलब्ध गराउनुका साथै अनाथालय र वृद्धाश्रममा समेत आवश्यक सामग्री सहयोग गर्दै आएको प्रतिष्ठानले जनाएको छ। यद्यपि, पछिल्लो बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि गरिएको यो सहयोगलाई प्रतिष्ठानले आफ्नो मानवीय सेवाको निरन्तरताका रूपमा लिएको छ।
अध्यक्ष मल्लले स्वर्गीय आमा राजु देवी मल्लको स्मृतिमा सुरु गरिएको सामाजिक सेवाको अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो। विपद्का समयमा राहत तथा उद्धारमा सहयोग गर्नुका साथै असहाय, दुःखी र विपन्न वर्गको हितमा आवश्यकताअनुसार सामाजिक तथा परोपकारी गतिविधिलाई थप प्रभावकारी बनाउँदै लैजाने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।




