साउदी अरेबियालाई ५ विकेटले हराउँदै नेपाल एक खेलअगावै एसीसी प्रिमियर कपको सेमिफाइनलमा

प्रकाशित मिति:

काठमाडौं । साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। समूह चरणको एक खेल बाँकी छँदै नेपाल प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको हो।

मलेसियाको क्वालालम्पुरस्थित बायोमास ओभल मैदानमा साउदी अरेबियाले प्रस्तुत गरेको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा गुल्शन झाले अविजित ४४ तथा रोहित पौडेलले अविजित २४ रन बनाए। यस्तै ईशान पाण्डेले ४०, देव खनालले ३९, आसिफ शेखले २० र अर्जुन कुमालले १५ रन जोडे। बलिङतर्फ साउदी अरेबियाका इश्तियाक अहमद र मुहम्मद आतिफले २–२ तथा मोहम्मद शेखले १ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको साउदी अरेबिया ४९ दशमलव २ ओभरमा १९० रन बनाउँदा अलआउट भएको थियो। उसका लागि ओपनिङ ब्याटर अब्दुल वाहिदले सर्वाधिक ७७ रन बनाए। उनले ८९ बलमा १० चौका र २ छक्का प्रहार गरे। यस्तै मुहम्मद आतिफले ३० र मोहम्मद हिशाम शेखले २८ रन जोडेका थिए। नेपालका तर्फबाट बलिङमा कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ३–३ विकेट लिए भने ललित राजवंशीले २ तथा गुल्शन झा र शेर मल्लले १–१ विकेट हात पारे।

नेपालले यसअघि पहिलो खेलमा बहराइनलाई ७ विकेट र दोस्रो खेलमा आयोजक मलेसियालाई ६ विकेटले हराएको थियो। समूह चरणको तेस्रो खेलमा पनि जित निकालेको नेपालले अब अन्तिम खेल मंगलबार हङकङविरुद्ध खेल्नेछ।

ताजा समाचार