चिलिमेको सुरुङमा ६ जना फसेको सूचना, उद्धारमा सघाउन सांसद न्यौपाने कार्यक्षेत्रतर्फ

प्रकाशित मिति:

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं सुरुङविज्ञ इन्जिनियर श्रीराम न्यौपाने रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङ उद्धार कार्यमा पुनः सहभागी हुन घटनास्थलतर्फ लागेका छन्। चिलिमेको सुरुङभित्र ६ जना थुनिएको सूचना पाएपछि उनी प्राविधिक सहयोगका लागि त्यसतर्फ प्रस्थान गरेका हुन्।

बाढी प्रभावित त्रिशूली ३ ‘ए’ को सुरुङ उद्धारमा सुरुदेखि नै सक्रिय रहेका सांसद न्यौपाने र अर्का सांसद सागर ढकाल पार्टीको आन्तरिक निर्देशनपछि काठमाडौँ फर्किएका थिए। उद्धारमा अवरोध पुग्ने गरी सुरुङमा नबस्न पार्टीले निर्देशन दिएको भन्दै न्यौपानेले निर्णय फिर्ता नभए सांसद पदबाटै राजीनामा दिने अडानसमेत लिएका थिए।

तर आज रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीले सांसदद्वय न्यौपाने र ढकाललाई लक्षित गरेर कुनै निर्णय नगरेको स्पष्टीकरण दिएपछि न्यौपानेलाई पुनः कार्यक्षेत्रमा फर्किने बाटो खुलेको हो।

घटनास्थल जानुअघि न्यौपानेले चिलिमे सुरुङमा ६ जना फसेको जानकारी आएको उल्लेख गर्दै उद्धारमा आफ्नो प्राविधिक ज्ञान र अनुभवको उपयोग गर्ने, वस्तुस्थिति बुझेर सुझाव दिने र आवश्यक परे प्रत्यक्ष रूपमा आफैँ खटिने बताएका छन्।

ताजा समाचार