शिक्षण अस्पतालमा रहेका ९० शव व्यवस्थापनको तयारी, डिएनए नमुना सुरक्षित राखिने

प्रकाशित मिति:

काठमाडौं । बाढीपछि विभिन्न स्थानबाट सङ्कलन गरी महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएका करिब ९० वटा शवको व्यवस्थापन प्रक्रिया सुरु गरिएको छ। शव व्यवस्थापन गर्ने उपयुक्त स्थान टुङ्गो लगाउन आज साँझ जिल्ला सुरक्षा समितिको बैठक बस्दै छ।

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाका अनुसार अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) को मापदण्ड तथा प्रोटोकलअनुसार शव व्यवस्थापन स्थल खोजी भइरहेको छ। यसअघि पनि पहिचान नखुलेका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिकाको पहिलो संशोधन २०८३ अनुसार डिएनए (DNA) नमुना सुरक्षित राखेर ‘व्यवस्थापन संरक्षण’ गरिएको थियो। ती शव गत भदौ १६ गते गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकास्थित नेपाल ट्रस्टको स्वामित्वमा रहेको वन क्षेत्रमा व्यवस्थापन गरिएको थियो।

प्रवक्ता थापाका अनुसार गोकर्णेश्वरको सोही स्थानमा थप शव राख्न सकिने वा नसकिने अध्ययन भइरहेको छ। त्यहाँ सम्भव नभएमा ललितपुर र भक्तपुरका उपयुक्त स्थानहरूको विकल्पमा समेत छलफल हुनेछ।

व्यवस्थापन गरिएका सबै शवको डिएनए सुरक्षित रहने भएकाले भविष्यमा आफन्तले दाबी गरेमा परीक्षण गरी शव उपलब्ध गराइनेछ। शव पहिचान तथा दाबीका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

ताजा समाचार