दार्चुला । दार्चुलास्थित महाकाली नदीमाथि निर्माण गरिएको नेपाल–भारत जोड्ने पक्की पुलको नेपालतर्फ भारतीय निर्माण व्यवसायीले राखेको साइनबोर्डको विषयलाई लिएर दार्चुलामा नागरिकस्तरबाट विरोध भएको छ।
दुई देश जोड्ने उक्त पुलको नेपालतर्फ महाकाली नगरपालिका–८ असिगडा क्षेत्र पर्छ भने भारततर्फ धारचुला तहसिलअन्तर्गतको छारछुम क्षेत्र पर्छ। तर नेपालतर्फको पुलछेउमा ‘नेपाल–भारत मैत्री सेतु’ लेखिएको साइनबोर्डमा ठेगाना ‘काली नदी, छारछुम’ (भारततर्फको ठेगाना) उल्लेख गरिएपछि स्थानीय राजनीतिक दल, पत्रकार तथा सर्वसाधारणले विरोध जनाउँदै तत्काल सच्याउन माग गरेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी दार्चुलाका सभापति राजेशसिंह सामन्तले नेपाली भूभागमा राखिएको बोर्डमा भारतको ठेगाना राखिनु गम्भीर विषय भएको बताउँदै परराष्ट्र मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमार्फत कूटनीतिक तवरबाट सच्याउन माग गरिएको बताए। स्थानीय रवि धामीले सीमाक्षेत्रका संरचनामा राखिने बोर्ड, लोगो र भाषाको स्पष्ट मापदण्ड बनाउनुपर्ने धारणा राखे।
यस विषयमा भारतस्थित धारचुलाका एसडीएम आशिषकुमार जोशीसँग कुरा भइसकेको र त्रुटि सच्याउने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिएका छन्। पुल निर्माण कम्पनीका सबइन्जिनियर हेम पाण्डेले पनि बोर्ड छपाइका क्रममा प्राविधिक त्रुटि हुन पुगेको र त्यसलाई तत्काल सच्याउने काम भइरहेको बताएका छन्।




