नेपाल–न्युजील्याण्ड प्रधानमन्त्रीबीच संवाद: बाढीपछिको उद्धार, बेपत्ता विदेशीको खोजी र जलवायु न्यायबारे छलफल

प्रकाशित मिति:

काठमाडौँ —

नेपाल र न्युजील्याण्डका सरकार प्रमुखबीच भोटेकोशी विपद् र द्विपक्षीय सहयोगका विषयमा टेलिफोन संवाद भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच भएको कुराकानीमा बाढीपछिको वस्तुस्थिति र राहत प्रयासबारे समीक्षा गरिएको छ।

संवादका क्रममा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरू द्रुत गतिमा अघि बढाइएको जानकारी दिए। विशेषगरी न्युजील्याण्डका नागरिकसहित बेपत्ता भएका सबै विदेशी नागरिकहरूको खोजी कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उनले स्पष्ट पारे। विपद्को यस घडीमा न्युजील्याण्ड सरकारले उपलब्ध गराएको २० लाख न्युजील्याण्ड डलर बराबरको मानवीय सहायताका निम्ति प्रधानमन्त्री शाहले समकक्षी लक्सनमार्फत न्युजील्याण्डप्रति आभार व्यक्त गरे।

यसैगरी, नेपाल जलवायु परिवर्तनका कारण उत्पन्न हुने विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायुजन्य ‘हानि तथा नोक्सानी कोष’ (Loss and Damage Fund) सम्बन्धी बहसमा न्युजील्याण्डको रचनात्मक भूमिका रहने विश्वास व्यक्त गरे।

न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले बाढीपहिरोका कारण नेपालले व्यहोर्नुपरेको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै न्युजील्याण्ड सरकार र जनताका तर्फबाट समवेदना एवं ऐक्यबद्धता प्रकट गरेका छन्।

ताजा समाचार