श्रद्धा र सम्मानका साथ कुशे औँसी मनाइँदै, पितृतर्पण गर्न तीर्थस्थलहरूमा घुइँचो

प्रकाशित मिति:

उपेश सिंह धामी

कञ्चनपुर । सनातन हिन्दू धर्मावलम्बीहरूले आज भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसी पर्व श्रद्धा, भक्ति र आदरपूर्वक मनाउँदैछन्। यस दिनलाई ‘बुवाको मुख हेर्ने पर्व’ अर्थात् पितृ औँसीका रूपमा मनाउने प्राचीन धार्मिक तथा सांस्कृतिक परम्परा रहिआएको छ।

यस विशेष अवसरमा छोराछोरीहरूले आफ्ना जीवित बुवालाई मनपर्ने मीठा–मीठा परिकार, फलफूल तथा मिष्ठान्न खुवाउनुका साथै नयाँ वस्त्र उपहार दिएर ढोगभेट गरी आशीर्वाद लिने गर्छन्। बुवाको आदर-सत्कार र आशीर्वादले जीवनमा सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास छ। यही आस्थाका कारण रोजगारी वा अध्ययनको सिलसिलामा टाढा रहेका सन्तानहरू पनि आजको दिन जसरी भए पनि घर पुगेर बुवाको मुख हेर्ने गर्छन्।

अर्कोतर्फ, पितृ वियोगमा रहेकाहरूले भने विभिन्न पवित्र तीर्थस्थल, नदी किनार र शिवालयहरूमा पुगेर दिवंगत बुवाको नाममा श्राद्ध, तर्पण र सिदा दान गर्ने गर्दछन्। आजको दिन श्राद्ध तथा पिण्डदान गर्नाले पितृहरू तृप्त हुने र मोक्ष प्राप्त हुने धार्मिक मान्यता छ।

कुशे औँसीको अवसरमा काठमाडौँको ऐतिहासिक तीर्थस्थल गोकर्णेश्वर महादेव, तनहुँको पवित्र देवघाट धाम, सुनसरीको विष्णुपादुका तथा बराहक्षेत्र लगायत देशका विभिन्न नदी र कुण्डहरूमा बिहानैदेखि श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको छ। यसैगरी सुदूरपश्चिमका विभिन्न पवित्र नदी किनार तथा शिवालयहरूमा पनि दिवंगत पितृप्रति श्रद्धा अर्पण गर्नेहरूको चहलपहल देखिएको छ।

ताजा समाचार