४० प्रतिशत मात्रै काम सकिएका जेन-जी सहिदका सालिक अनावरणको हतार गरियो : मूर्तिकार

प्रकाशित मिति:

काठमाडौं । ललितपुरको सातदोबाटोस्थित पौडीपोखरी परिसरमा निर्माणाधीन ४५ जना जेन-जी सहिदका सालिक अनावरण कार्यक्रम विवादपछि रोकिएको छ। सालिक निर्माण नसकिँदै हतारमा अनावरण गर्न खोजिएको र सहिदको अनुहारको बनावट नमिल्दा परिवारजनले आपत्ति जनाएपछि गृहमन्त्री सुधन गुरुङ अनावरण नगरी फर्किएका हुन्।

सुशीला कार्की नेतृत्वको तत्कालीन चुनावी सरकारले जेन-जी आन्दोलनका सहिदहरूको अर्थपूर्ण स्मृतीकरणका लागि स्मारक पार्क बनाउने निर्णय गरेको थियो। तत्कालीन युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अगुवाइमा सातदोबाटोमा ४५ जना सहिदको सालिक निर्माण प्रक्रिया अघि बढाइएको थियो। आन्दोलनको एक वर्ष पुगेको अवसर पारेर गत बुधबार गृहमन्त्रीबाट सालिक अनावरण गराउने तयारी गरिएको थियो।

जेन-जी सहिद परिवार कल्याणकारी समाजका अध्यक्ष नारायण श्रेष्ठका अनुसार अघिल्लो दिन मात्रै खबर गरेर बोलाइएको र सालिकमा आफ्ना सन्तानको अनुहार मेल नखाएपछि अनावरण रोक्न माग गरिएको हो।

सालिक निर्माणको समन्वय गरिरहेका रवि शाक्यका अनुसार हालसम्म करिब ४० प्रतिशत मात्र काम सम्पन्न भएको छ। उनले कुनै सरकारी बजेटबिना व्यक्तिगत पहलमा करिब २० लाख रुपियाँ जुटाएर मूर्तिकारद्वय मनिष श्रेष्ठ र सुजित श्रेष्ठमार्फत निर्माण अघि बढाइएको जानकारी दिए। काम पूरा नहुँदै अनावरणको विषय आएकाले समस्या देखिएको उल्लेख गर्दै शाक्यले आगामी दुई महिनाभित्र सबै ४५ वटै सालिकको पूर्ण निर्माण सम्पन्न हुने बताए।

ताजा समाचार