
उपेश सिंह धामी
कञ्चनपुर — नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, शाखा महेन्द्रनगरमा पेशागत बीमा अभिकर्ता संघ नेपालको महेन्द्रनगर शाखाको नयाँ कार्यसमिति गठन गरिएको छ। अभिकर्ताहरूको भेलाबाट आगामी दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।
नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा डम्बर बहादुर बिष्ट, उपाध्यक्षमा पुष्पा कु. चन्द, सचिवमा राजेन्द्र प्रसाद भट्ट, कोषाध्यक्षमा रिता जैशी र सहसचिवमा विष्णु नारायण भट्ट चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा उपेश सिंह धामी, कलावती चन्द र मथुरा कार्की चयन भएका छन्।
कार्यक्रममा पेशागत बीमा अभिकर्ता संघ नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र बहादुर चन्द, राष्ट्रिय समिति प्रदेश सचिव धन सिंह ठगुन्ना तथा नेशनल लाइफ इन्स्योरेन्स शाखा महेन्द्रनगरकी शाखा प्रबन्धक लक्ष्मी भट्ट थापा लगायत अन्य अभिकर्ताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै अभिकर्ताहरूको हकहित, पेशागत क्षमता विकास तथा बीमा व्यवसायको प्रवर्द्धनमा संघले प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरिएको थियो।

अभिकर्ताहरूका लागि आधारभूत तालिम पनि सम्पन्न
यसै अवसरमा नेशनल लाइफ इन्स्योरेन्स शाखा महेन्द्रनगरको आयोजनामा अभिकर्ता आधारभूत तालिमसमेत सम्पन्न भएको छ। विशेषगरी नयाँ अभिकर्ताहरूको ज्ञान, सीप तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा अभिकर्ताहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।
तालिममा बीमा व्यवसायका आधारभूत पक्ष, अभिकर्ताको भूमिका, ग्राहकसँगको प्रभावकारी व्यवहार तथा व्यावसायिक रूपमा अघि बढ्न आवश्यक ज्ञान र सीपका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
नयाँ कार्यसमिति गठन तथा अभिकर्ता आधारभूत तालिमले महेन्द्रनगरमा बीमा अभिकर्ताहरूको संगठनात्मक क्षमता र व्यावसायिक दक्षता थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।





