काठमाडौं । अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न भागमा विद्युत् प्रसारण तथा वितरण संरचनामा गम्भीर क्षति पुगेको छ। विपद्का कारण कतिपय क्षेत्रमा विद्युत् आपूर्ति ठप्प भएको छ भने दर्जनभन्दा बढी ठूला तथा मझौला जलविद्युत् आयोजनाहरूको उत्पादन पूर्ण रूपमा बन्द भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार बाढीपहिरोले २२०, १३२, ३३ र ११ केभी क्षमताका प्रसारण तथा वितरण संरचनाहरूमा क्षति पुर्याएको छ। कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुश्मा खण्डका टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ। सोही करिडोरको कुश्मा–नयाँबुटवल खण्डमा प्राविधिक फल्ट आउँदा करिब २०० मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ।
यस्तै, नदीहरूमा आएको बाढीका कारण १४० मेगावाटको कालीगण्डकी ‘ए’, ७० मेगावाटको मध्यमर्स्याङ्दी, ६९ मेगावाटको मर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी, ४४ मेगावाटको सुपर मादी, ४० मेगावाटको सेती नदी, २५ मेगावाटको माथिल्लो मादी, २५ मेगावाटको अपर दोर्दी तथा नामार्जुन मादी र मोदीलगायतका आयोजनाहरूबाट उत्पादन रोकिएको छ। मनाङमा पहिरोले ३३ केभी लाइन अवरुद्ध बनाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले क्षतिको प्रारम्भिक विवरण सङ्कलन भइरहेको र अवरुद्ध क्षेत्रमा तत्काल मर्मतका लागि प्राविधिक टोली परिचालन गरिएको जानकारी दिनुभयो। उहाँले वैकल्पिक फिडर तथा उपलब्ध संरचनामार्फत उपभोक्तालाई शीघ्र विद्युत् उपलब्ध गराउने प्रयास भइरहेको बताउनुभयो। वर्षा र पहिरोले सडक अवरुद्ध हुँदा केही दुर्गम स्थानमा प्राविधिक टोली पुग्न कठिनाइ भए पनि बाटो खुल्नासाथ मर्मतलाई तीव्रता दिइने प्राधिकरणले जनाएको छ। प्राधिकरणले विपद्को घडीमा ढलेका पोल तथा भुइँमा खसेका तार नछुन र सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।




