बेलौरी । कञ्चनपुरको बेलौरी नगरपालिकामा नालामा डुबेर एक पुरुषको ज्यान गएको छ। बेलौरी नगरपालिका–६ का ३९ वर्षीय महेश केसी स्थानीय भङ्गी नालामा आइतबार मृत अवस्थामा फेला परेका हुन्।
सशस्त्र प्रहरी बलका अनुसार केसी गएरातिदेखि नै परिवारको सम्पर्क बाहिर रहेका थिए। रातभर घर नफर्किएपछि परिवारका सदस्यहरूले उनी भङ्गी नालामा डुबेको हुन सक्ने आशंका व्यक्त गर्दै सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म बेलौरीमा खबर गरेका थिए।
सूचना प्राप्त हुनासाथ परिचालन भएको सशस्त्र प्रहरीको खोज तथा उद्धार टोलीले खोजी गर्ने क्रममा आइतबार बिहान केसीलाई सोही नालामा मृत अवस्थामा फेला पारेको हो। शव बरामद गरी आवश्यक कानुनी प्रक्रिया तथा परीक्षणका लागि प्रहरीले प्रक्रिया अघि बढाएको छ।




