महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशबाट प्रथम यू–२० पुरुष तथा महिला इन्डोर कबड्डी प्रतियोगिताका लागि खेलाडी छनोट गर्न महेन्द्रनगरमा खुला छनोट कार्यक्रम सम्पन्न भएको छ ।
सुदूरपश्चिम प्रदेश कबड्डी संघको आयोजनामा कञ्चनपुर जिल्ला कबड्डी संघको समन्वयमा कञ्चनपुर जिल्ला कबड्डी प्रशिक्षण केन्द्र, महेन्द्रनगरमा शनिबार खुला छनोट कार्यक्रम आयोजना गरिएको हो । छनोट कार्यक्रममा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामध्ये केही जिल्ला बाहेक अधिकांश जिल्लाबाट पुरुष तथा महिला खेलाडीहरूको सहभागिता रहेको थियो ।
प्रदेशस्तरीय छनोटबाट उत्कृष्ट खेलाडी छनोट गरी सुदूरपश्चिम प्रदेशको टोली निर्माण गरिने आयोजकले जनाएको छ । कार्यक्रमको अध्यक्षता सुदूरपश्चिम प्रदेश कबड्डी संघका अध्यक्ष महेश चन्दले गरेका थिए भने प्रमुख अतिथिका रूपमा जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका अध्यक्ष ज्ञानेन्द्र सिंह सहभागी थिए । संघका अध्यक्ष चन्दका अनुसार एउटा निष्पक्ष छनौट समिती गठन गरिएको उक्त समितिले टिम छनौट गर्ने छ ।
राष्ट्रिय स्तरमा आयोजना हुने महिला तथा पुरुष जुनियर इन्डोर कबड्डी (यू–२०) प्रतियोगिताका लागि सुदूरपश्चिमबाट सहभागी हुने टोली निर्माण गर्ने उद्देश्यले खुला छनोट आयोजना गरिएको संघले जनाएको छ ।




