बैतडी । चाडपर्वका समयमा यात्रुको यात्रालाई सहज, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले बैतडीका १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।
चाडपर्व लक्षित गरी यात्रुको चाप अत्यधिक बढ्ने र आवागमनका क्रममा विभिन्न समस्या उत्पन्न हुन सक्ने भएकाले जिल्ला प्रहरी कार्यालय बैतडीले सहायता कक्ष सञ्चालनमा ल्याएको हो।
सहायता कक्ष गोठालापानी, सतबाँझ, पाटन, खोडपे, गोकुलेश्वर, खोचलेक, सिमार, हरिपुरबजार, पुर्चौंडी बसपार्क, गाँजरी, रौलेश्वर, ज्याली बजार र भट्टाडमा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।
सार्वजनिक सवारीसाधनमा हुन सक्ने ठगी, तोकिएभन्दा बढी भाडा असुली, सिट क्षमताभन्दा बढी यात्रु राख्ने लगायतका विकृति नियन्त्रण र समाधानका लागि सहायता कक्षले सहजीकरण गर्ने प्रहरी निरीक्षक सिंहले बताए। उनका अनुसार सहायता कक्षबाट यात्रुले आवश्यक सूचना, यात्रासम्बन्धी परामर्श तथा सेवा सहजै लिन सक्नेछन्। यात्राका क्रममा कुनै पनि समस्या वा गुनासो भए नजिकैको सहायता कक्षमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।




