काठमाडौं । पदीय आचरणविपरीत संवेदनशील सूचना चुहावट गरेको आरोपमा सरकारले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको छ। गृह मन्त्रालयको सोमबारको निर्णयअनुसार उहाँलाई निलम्बन गरिएको हो।
गत असोज ११ गते काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राखिएका बेला एआईजी दाहाल ‘चेन अफ कमान्ड’ उल्लंघन गरी पुगेको र झापाका इनम सापकोटामार्फत जबरालाई संवेदनशील सूचना उपलब्ध गराएको प्रहरी अनुसन्धानबाट खुलेको मन्त्रालय स्रोतले जनाएको छ। मन्त्रालयले घटनाको सत्यतथ्य छानबिन गर्न जाँचबुझ अधिकृत तोक्दै तीन दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिएको छ।




