डडेल्धुरा । सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरूलाई कालोसूचीमा राखेको छ। कार्यालयको असोज २५ गतेको निर्णयानुसार मङ्गलबार सूचना जारी गर्दै ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको जानकारी दिइएको हो।
कालोसूचीमा पर्नेहरूमा अछामको कमलबजार नगरपालिकाको सिफारिसमा धनगढीस्थित बराहा डेभलपर्स प्रालि (साविक राजेन्द्र निर्माण सेवा प्रालि) समेत छ। नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँद मुख्य व्यक्ति रहेको उक्त कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको हो।
यसअघि पनि पुरातत्त्व विभागको सिफारिसमा २०८१ फागुनमा यो कम्पनी एक वर्षका लागि कालोसूचीमा परेको थियो। सार्वजनिक खरिद अनुगमन कार्यालयको पछिल्लो निर्णयसँगै बराहा डेभलपर्सले अब तीन वर्षसम्म कुनै पनि सरकारी खरिद तथा ठेक्का प्रक्रियामा सहभागी हुन पाउने छैन।






