महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त र दोधारा चाँदनी नगरपालिका जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल भत्किएपछि चुँडिएको नेपाल टेलिकमको इन्टरनेट तार तान्ने क्रममा गत असोज २४ गते बेपत्ता भएका सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) सागरराज थारूको शव फेला परेको छ। उनको शव भत्किएकै पुलको तारमा अड्किएको अवस्थामा फेला परेको हो।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार पानीको सतहबाट हेर्दा सशस्त्र प्रहरीको टिसर्ट लगाएको व्यक्ति तारमा अड्किएको प्रस्ट देखिएको र शव रहेको स्थान पहिचान भइसकेको छ। नदीमा पानीको बहाव तीव्र रहेका कारण शव बाहिर निकाल्न भने कठिनाइ भइरहेको छ। शव निकाल्न नेपाली सेना तथा सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ भने आवश्यकताअनुसार पानीको बहाव नियन्त्रण गर्न डोजर (जेसिबी) प्रयोग गर्ने तयारीसमेत गरिएको छ।
बर्दियाको ठाकुरबाबा नगरपालिका–६, तुलसीपुर निवासी थारू दोधारा चाँदनीस्थित सीमा सुरक्षा गुल्ममा हाजिर भएको भोलिपल्टै तार व्यवस्थापनका क्रममा डुङ्गा अनियन्त्रित भई महाकाली नदीमा खसेर बेपत्ता भएका थिए।






