धनगढी । दसैँ मनाउन परिवारसहित पुर्ख्यौली घर पहाड गएका एक व्यक्तिको कैलालीस्थित घरबाट लाखौँ मूल्य बराबरको धनमाल चोरी भएको छ।
गोदावरी नगरपालिका–१ अत्तरियास्थित वनदेवी टोल निवासी हरिमोहन भट्ट दसैँ मनाउन गत असोज २५ गते परिवारसहित बैतडी गएका थिए। कात्तिक ५ गते घर फर्किँदा मूल ढोकाको ताला फोडेर कोठाभित्र रहेका ६ तोला सुन, २ तोला चाँदी र खुत्रुके (गुल्लक) मा जम्मा गरिएको करिब १ लाख ५० हजार रुपियाँ नगद चोरी भएको फेला परेको पीडित भट्टले बताए।
घरका सबै सामान लथालिङ्ग पारिएको अवस्थामा भेटिएपछि भट्टले इलाका प्रहरी कार्यालय मालाखेतीमा किटानी उजुरी दिएका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीले चोरीसम्बन्धी उजुरी दर्ता भएको जनाउँदै घटनामा संलग्नहरूको खोजी तथा अनुसन्धान तीव्र पारिएको जानकारी दिएको छ।






