कञ्चनपुरको बेलडाँडीमा देखियो पाटेबाघ, सतर्क रहन आग्रह

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ स्थित इमलिया चमनचोक नजिकै बस्तीतर्फ आउँदै गरेको पाटेबाघ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको स्वचालित क्यामेरामा कैद भएको छ। बस्ती नजिकै पाटेबाघको गतिविधि देखिएपछि निकुञ्ज प्रशासनले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

बेलडाँडी रेञ्जर पोस्टका प्रमुख रेञ्जर निम चौधरीका अनुसार बस्तीतर्फ आउन खोजेको बाघलाई सुरक्षित रूपमा जङ्गलतर्फ फर्काउन हात्तीसहितको प्राविधिक टोली परिचालनको तयारी भइरहेको छ। उनले सो क्षेत्र तथा मध्यवर्ती वन आसपास हिँड्डुल गर्दा एक्लै नजान र विशेष सावधानी अपनाउन अनुरोध गरे। पछिल्लो समय बेलडाँडीसहित कञ्चनपुरका विभिन्न क्षेत्रमा जङ्गली हात्ती र पाटेबाघको गतिविधि बढ्दा स्थानीय बासिन्दा त्रसित बन्दै आएका छन्।

यसैबीच, बस्तीमा क्षति पुर्‍याउने हात्तीको गतिविधि नियन्त्रण गर्न हात्तीमा रेडियो कलर जडान गर्ने तयारी भइरहेको वन तथा वातावरणमन्त्री गीता चौधरीले बेलडाँडी पुगेर जानकारी दिएकी छन्। रेडियो कलर जडानपछि हात्तीको अवस्थिति पत्ता लगाई जोखिममा रहेका बस्तीका नागरिकलाई समयमै सतर्क गराउन सहज हुने अपेक्षा गरिएको छ।

spot_img

ताजा समाचार