दसैँमा काठमाडौँमा करिब एक अर्बका खसीबोका र च्याङ्ग्रा बिक्री, गत वर्षभन्दा व्यापार घट्यो

प्रकाशित मिति:
spot_img

काठमाडौँ– यसपालिको दसैँमा काठमाडौँ उपत्यकामा खसीबोका र च्याङ्ग्राको कारोबारमा उल्लेख्य गिरावट आएको छ। दसैँको एक सातामा बजारमा करिब सन्तानब्बे करोड रुपियाँ बराबरको चालीस हजार खसीबोका र च्याङ्ग्राको कारोबार भएको छ। चौपाया खरिदबिक्री सङ्घका अनुसार गत वर्ष एक अर्ब सोह्र करोड रुपियाँ बराबरको कारोबार भएकोमा यो वर्ष माग घट्दा व्यापार खस्किएको हो।

सङ्घका अध्यक्ष जीवनराज खड्काका अनुसार गत वर्षको तुलनामा यसपालि पन्ध्र हजार कम सङ्ख्यामा खसीबोका तथा च्याङ्ग्रा बिक्री भएका छन्। अघिल्लो वर्ष पचपन्न हजार च्याङ्ग्रा बिक्री भएकोमा यो वर्ष चालीस हजारमा सीमित भएको छ। जसमध्ये कलङ्की खसीबजारमा अघिल्लो दसैँमा चौबिस हजार खसीबोका बिक्री भएकोमा यसपालि सत्र हजार मात्र बिक्री भए भने अन्य बजारमा तेइस हजार खसीबोका र च्याङ्ग्रा बिक्री भएका छन्।

भदौ दश गते भोटेकोशीमा आएको बाढीका कारण जनजीवन प्रभावित भएको र मूल्य अत्यधिक बढेका कारण खपत घटेको व्यवसायीहरूको भनाइ छ। बजारमा आयात कम हुनु र प्रतिकेजीमा दुई सय रुपियाँसम्म मूल्य बढ्दा माग घटेको हो। मूल्य बढेका कारण विगतमा सिङ्गै खसी किन्ने उपभोक्ताले यसपालि दुईदेखि चार केजी मात्र मासु किनेर दसैँ मनाएका छन्।

सङ्घका अनुसार यस वर्ष जिउँदो खसीबोका प्रतिकेजी आठ सय सत्तरीदेखि नौ सय बीस रुपियाँसम्म बिक्री भएको छ, जुन गत वर्ष सात सय बीसदेखि सात सय पचास रुपियाँ थियो। च्याङ्ग्रा भने गत वर्ष प्रतिकेजी एक हजार तीन सयदेखि एक हजार चार सय रुपियाँ रहेकोमा यो वर्ष एक हजार दुई सय पचास रुपियाँमा बिक्री भएको छ। हाल तयारी खसीको मासुको मूल्य प्रतिकेजी एक हजार सात सयदेखि एक हजार सात सय पचास रुपियाँ पुगेको छ, जुन गत वर्ष एक हजार पाँच सय रुपियाँ थियो।

विगतका वर्षहरूमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकेजी दश रुपियाँ छुट दिएर खसीबोका बिक्री गर्ने गरे पनि यसपालि बिक्री नगर्दा निजी व्यवसायीहरूको मनोमानी बढेको र उपभोक्ता महँगो मूल्य तिर्न बाध्य भएका छन्। यसपालि मुस्ताङबाट च्याङ्ग्रा र विभिन्न जिल्लाबाट स्वदेशी खसीबोका भित्र्याइएको थियो। साथै पशु सेवा विभागले उपत्यकाका विभिन्न दश स्थानबाट स्वास्थ्य परीक्षण गरेर मात्र चौपाया बजारमा पठाएको थियो।

spot_img

ताजा समाचार