दार्चुला — सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित दार्चुलाको अपि हिमाल आधार शिविरमा प्रदेशस्तरीय बृहत् पर्यटन उत्सव आयोजना हुने भएको छ। यस वर्ष अपि क्षेत्रमा दश हजार पर्यटक भित्र्याउने लक्ष्यसहित गाउँपालिकाले आगामी कात्तिक सत्र गतेदेखि उन्नाइस गतेसम्म तीनदिने पर्यटन उत्सव सञ्चालन गर्न लागेको हो।
अपिहिमाल गाउँपालिका–एकस्थित आधार शिविरको पिलकन्दमा मुख्य कार्यक्रम आयोजना गरिनेछ भने उत्सवसँग सम्बन्धित अन्य गतिविधि गाउँपालिकाका विभिन्न स्थानमा समेत सञ्चालन हुनेछन्। अपि क्षेत्रलाई सुदूरपश्चिमकै प्रमुख पर्यटकीय केन्द्र बनाउन तीन दिनसम्म विभिन्न रचनात्मक तथा आकर्षक कार्यक्रमहरू तय गरिएको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले जानकारी दिनुभयो।
उत्सवको पहिलो दिन प्रदेश तथा राष्ट्रियस्तरका ख्यातिप्राप्त साहित्यकार एवं कलाकारहरूको उपस्थितिमा सांस्कृतिक कार्यक्रम र साहित्यिक गोष्ठी आयोजना गरिनेछ। दोस्रो दिन प्रदेशस्तरीय मैत्रीपूर्ण क्रिकेट तथा भलिबल प्रतियोगिता सञ्चालन हुनेछ। विशेषगरी उच्च हिमाली क्षेत्रको आधार शिविरमै आयोजना गरिने क्रिकेट खेल उत्सवको मुख्य आकर्षण रहने र यसले उच्च हिमाली खेलकुद प्रवर्द्धनमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ।

त्यसैगरी, तेस्रो दिन अपि क्षेत्रलाई ‘वेलनेस टुरिजम’को केन्द्रका रूपमा विकास गर्न योग तथा ध्यान शिविर सञ्चालन गरिनेछ। उत्सवको अन्तिम दिन आगामी नोभेम्बरमा हुने अन्तर्राष्ट्रिय जलवायु सम्मेलनको पूर्वसन्ध्यामा उच्च हिमाली क्षेत्रमा परेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन विशेष ‘जलवायु संवाद’ समेत आयोजना गरिनेछ।
सुदूरपश्चिमको सबैभन्दा अग्लो सात हजार एक सय बत्तीस मिटर उचाइको अपि हिमाल पर्यटनका दृष्टिकोणले निकै सम्भावनायुक्त भए पनि हालसम्म न्यून संख्यामा मात्र पर्यटक पुग्दै आएका छन्। पछिल्लो समय वार्षिक करिब पाँच हजार पर्यटक पुग्ने गरेको यस क्षेत्रमा यसवर्ष संख्या दोब्बर पुर्याउने लक्ष्य राखिएको छ। स्थानीयवासीको जीविकोपार्जनमा सुधार ल्याउन, रोजगारी सिर्जना गर्न र जलवायु अनुकूलन कार्यक्रम प्रवर्द्धन गर्न यो उत्सव प्रभावकारी हुने अपेक्षा गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर बिष्टले सबैलाई उत्सवमा सहभागी हुन आह्वान गर्नुभएको छ।






