महेन्द्रनगर । कञ्चनपुरको सीमा नाकामा सशस्त्र प्रहरी बलको तालिमप्राप्त कुकुरको सहयोगमा मुखभित्र लुकाएर ल्याउँदै गरिएको १ दशमलव ७८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ भगतपुर निवासी २६ वर्षीय रामकृष्ण बराल छन्।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर गड्डाचौकीबाट खटिएको डग स्क्वाड र प्रहरीको संयुक्त टोलीले भीमदत्त नगरपालिका–१० स्थित भन्सार ब्यारियरमा नियमित चेकजाँच गरेको थियो। भारतको वनबासाबाट महेन्द्रनगरतर्फ पैदल आउँदै गरेका बरालमाथि शङ्का लागेर जाँच गर्दा सशस्त्रको तालिमप्राप्त पोथी लेब्राडोर कुकुर ‘अल्फा’ले उनको मुखभित्र लागूऔषध रहेको सङ्केत गरेको थियो।
कुकुरको सङ्केतपछि सुरक्षाकर्मीले खानतलासी गर्दा बरालको मुखभित्र प्लास्टिकमा बेरिएको १ दशमलव ७८ ग्राम खैरो हेरोइन फेला परेको हो। बरामद लागूऔषधसहित नियन्त्रणमा लिइएका बराललाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।






