‘अर्नब’ चक्रवातको प्रभावले नेपालमा भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

प्रकाशित मिति:
spot_img

काठमाडौं । बङ्गालको खाडीमा विकसित शक्तिशाली ‘अर्नब’ चक्रवातका कारण नेपालमा आगामी कात्तिक १२ देखि १४ गतेसम्म भारी वर्षा, हावाहुरी तथा हिमपातको जोखिम रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनअनुसार उक्त चक्रवात कात्तिक ११ गते भारतको जमिनमा प्रवेश गर्ने र त्यसको प्रभाव नेपालमा कात्तिक १२ गते बिहीबार रातिदेखि सुरु हुने देखिएको छ। विशेषगरी कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोशी, बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेश बढी प्रभावित हुनेछन्। ती प्रदेशका धेरै स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम तथा थोरै स्थानमा भारी वर्षाको प्रक्षेपण गरिएको छ।

यसै गरी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरीसहित मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपात, हिमाँधी र हिमपहिरोको उच्च जोखिम औँल्याइएको छ। प्राधिकरणका प्रवक्ता रामबहादुर केसीद्वारा जारी सूचनामा सम्भावित क्षति न्यूनीकरणका लागि किसानहरूलाई पाकेको धानबाली कात्तिक १२ गते बिहीबार अगावै काट्न र सुरक्षित रूपमा भित्र्याउन अनुरोध गरिएको छ।

साथै, उक्त अवधिभर पर्यटकहरूलाई हिमाली तथा उच्च पहाडी क्षेत्रमा नजान, गइसकेका भए सुरक्षित स्थानमै रहन र अत्यावश्यक बाहेक सडक तथा हवाई यात्रा नगर्न आग्रह गरिएको छ। आवश्यक परेका खण्डमा सवारी आवागमन बन्द गर्न सकिने र जोखिमयुक्त बस्तीका नागरिकलाई पूर्वसूचनाका आधारमा सुरक्षित स्थानमा सार्न स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई निर्देशन दिइएको छ। मौसमसम्बन्धी जानकारीका लागि टोल फ्री नम्बर ११५५ तथा विपद् उद्धारका लागि १२३४, १०० वा १११४ मा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ।

spot_img

ताजा समाचार