‘अरनब’ चक्रवातको प्रभावले भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

प्रकाशित मिति:
spot_img

काठमाडौं । बङ्गालको खाडीमा विकसित भइरहेको ‘अरनब’ चक्रवातका कारण आगामी कात्तिक १३ र १४ गते देशभर भारी वर्षा, चट्याङ, हावाहुरी तथा हिमपातको सम्भावना रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानअनुसार उक्त चक्रवातको प्रभाव आगामी शुक्रबारदेखि नेपालमा देखिने छ। विशेषगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा समेत वर्षा हुनसक्ने जनाइएको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले सम्भावित विपद्बाट जोगिन ती क्षेत्रहरूमा यात्रा नगर्न, अत्यावश्यक कामबाहेक ननिस्कन तथा नदी–खोला किनार र बाढीको जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा सर्न प्राधिकरणले अनुरोध गरेको छ।

आपत्कालीन अवस्थामा सहयोग लिनका लागि मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायताका लागि १२३४, नेपाल प्रहरीका लागि १०० र पर्यटक प्रहरीका लागि ११४४ मा सम्पर्क गर्न प्राधिकरणले सर्वसाधारणमा आग्रह गरेको छ।

spot_img

ताजा समाचार