कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–१ एलएन चोकबाट प्रहरीले भन्सार छली गरी ल्याइएका सुर्ती तथा किराना सामानसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
मंगलबार साँझ शङ्काका आधारमा सवारी चेकजाँच गर्ने क्रममा सुदूरपश्चिम प्रदेश ०१–००१ च ३०२३ नम्बरको पिकअप जिपबाट अवैध सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार उक्त पिकअप जिप गोदावरी नगरपालिका–६ बस्ने ३३ वर्षीय सुरेश चौधरीले चलाइरहेका थिए।
खानतलासी गर्दा गाडीभित्र भन्सार छली गरी भित्र्याइएका सुर्ती तथा विभिन्न किसिमका किराना सामान फेला परेका थिए। बरामद गरिएका सामान तथा पिकअप जिपको अनुमानित मूल्य रु नौ लाख ६८ हजार ७६९ रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका चालक, जिप र बरामद सम्पूर्ण सामान नियन्त्रणमा राखेर आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धान भइरहेको छ।







