कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीकी २१ वर्षीया कविता जोशी पाठकको मृत्यु प्रकरणमा प्रहरीले उनका श्रीमान् र सासुलाई पक्राउ गरेको छ।
मटियारीस्थित आफ्नै घरको कोठामा कविता मृत फेला परेपछि माइती पक्षले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले श्रीमान् सरोज पाठक र सासु कमला जोशी पाठकलाई पक्राउ गरेको हो। राति साढे आठ बजे घटनाको खबर पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो। मृतकका माइती पक्ष बझाङमा रहेकाले घटनास्थल रातभर सुरक्षित राखी भोलिपल्ट बिहान प्रहरी निरीक्षक लोकराज जोशी नेतृत्वको टोलीले मुचुल्का तयार पारेको थियो।
श्रीमतीले झुन्डिएर आत्महत्या गरेको भन्दै सुरुमा श्रीमान् सरोजले कात्तिक ७ गते शव बुझ्न निवेदन दिएका थिए। तर, कात्तिक ८ गते माइती पक्षले आत्महत्या गर्न दुरुत्साहन दिएको आरोपसहित किटानी जाहेरी दर्ता गराएपछि प्रहरीले सोही दिन सरोजलाई नियन्त्रणमा लिएको थियो। यस्तै कात्तिक ९ गते सासु कमलालाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।







