जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा

प्रकाशित मिति:
spot_img

जनकपुरधाम । जनकपुरधामदेखि भारतको धार्मिक तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त विशेष रेल सेवाको उद्घाटन गर्ने गरी तयारी अघि बढाइएको हो।

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार उद्घाटनको अन्तिम मिति तय भइनसके पनि प्रधानमन्त्रीको भ्रमणकै अवसरमा सेवा शुभारम्भ गर्ने गरी काम भइरहेको छ। प्रधानमन्त्री शाहले आगामी मङ्सिर ६ गतेदेखि भारत भ्रमण गर्ने तयारी छ। यस विषयमा नेपाल र भारतका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच विभिन्न चरणमा छलफल जारी रहेको पराजुलीले जानकारी दिए।

रामायण सर्किटअन्तर्गत सञ्चालन हुने यस रेल सेवामा नेपालतर्फ नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु तथा रेलको सुरक्षा जिम्मेवारी लिने सैद्धान्तिक सहमति भएको छ। केही दिनअघि दुवै देशका रेल्वे, सुरक्षा, भन्सार तथा अध्यागमन अधिकारीको संयुक्त टोलीले विशेष निरीक्षण यानमार्फत जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षण समेत गरिसकेको छ।

सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको नगरी अयोध्यालाई प्रत्यक्ष रेल सेवाले जोडेपछि धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जीतेन्द्र महासेठले बताए। यसबाट तीर्थयात्रीहरूको आवागमन सहज हुनुका साथै स्थानीय आर्थिक गतिविधि बढ्ने विश्वास गरिएको छ। हाल भारतको जयनगरदेखि जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालनमा छ।

spot_img

ताजा समाचार