सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रियस्तरको ह्याकथन प्रतियोगिता ‘इन्नेक्स २०२६’ आयोजना हुने

प्रकाशित मिति:
spot_img

कंचनपुर । सुदूरपश्चिममा नवप्रवर्तन, प्रविधि र उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले ४८ घण्टे राष्ट्रियस्तरको ह्याकथन प्रतियोगिता ‘इन्नेक्स २०२६’ आयोजना हुने भएको छ। सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत इनोभेटिभ कम्प्युटर इन्जिनियरिङ क्लबको आयोजनामा आगामी मङ्सिर पाँच गतेदेखि सात गतेसम्म कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङमा प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगितामा देशभरका विद्यार्थी तथा युवा प्रविधिप्रेमीले स्वास्थ्य, शिक्षा, कृषि, वातावरण, विपद् व्यवस्थापन, साइबर सुरक्षा, वित्तीय प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका क्षेत्रमा नवीन प्रविधिमा आधारित समाधान विकास गर्ने अवसर पाउनेछन्। प्रतियोगितामा उत्कृष्ट हुने टोलीलाई कुल एक लाख १५ हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

यसका साथै विजेता तथा सहभागीहरूलाई विभिन्न विद्युतीय उपकरण र आकर्षक उपहारसमेत प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी हुन तीनदेखि चार सदस्यीय टोली दर्ता गर्नुपर्नेछ। प्रत्येक टोलीका लागि दुई हजार रुपियाँ दर्ता शुल्क निर्धारण गरिएको छ। आयोजकले देशभरका इच्छुक विद्यार्थी टोलीलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ। त्यस्तै, कार्यक्रम सफल बनाउन कम्पनी, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था र निजी क्षेत्रका विभिन्न निकायलाई प्रायोजन तथा सहकार्यका लागि आयोजकले आग्रह गरेको छ।
यस प्रतियोगिताले युवाहरूको प्राविधिक सीप विकास, व्यावहारिक परियोजना निर्माण तथा स्थानीय समस्याको प्रविधिमार्फत समाधान खोज्ने क्षमता अभिवृद्धिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

spot_img

ताजा समाचार