काठमाडौं । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज प्रधानमन्त्री बालेन शाहसँग शिष्टाचार भेटवार्ता गर्ने भएका छन्। उक्त भेटमा प्रधानमन्त्रीको आगामी भारत भ्रमणको तयारी तथा सम्भावित एजेन्डाबारे छलफल हुनेछ। भेटघाट सम्पन्न गरी उनी आजै अपराह्न स्वदेश फर्कने कार्यतालिका छ।

नेपाल भ्रमणका क्रममा विदेश सचिव मिस्रीले बुधबार दिनभर विभिन्न मन्त्रीसँग छुट्टाछुट्टै छलफल गरेका थिए। उनले अर्थमन्त्री स्वर्णिम वाग्ले, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भेटेर आर्थिक साझेदारी, ऊर्जा सहकार्य तथा कनेक्टिभिटी विस्तारबारे कुराकानी गरेका हुन्। यसअघि परराष्ट्र सचिव राईसँग भएको द्विपक्षीय वार्तामा हवाई, रेल, सडक सञ्जाल विस्तार, व्यापार सहजीकरण, ऊर्जा साझेदारी र जनस्तरको सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको थियो।
मङ्सिरको पहिलो साता हुने भनिएको प्रधानमन्त्रीको भारत भ्रमणलाई केन्द्रमा राखेर विदेश सचिवको भ्रमण भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार दुई देशका सचिवबीच भ्रमणका मुख्य विषयमा प्रारम्भिक छलफल भए पनि अन्तिम एजेन्डा तय हुन बाँकी छ।







