काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीश पदमा चार जनालाई नियुक्त गर्नुभएको छ। नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा उहाँहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरिएको हो।

राष्ट्रपतिको कार्यालयका उपसचिव ईश्वरी प्रसाद ढकालद्वारा जारी विज्ञप्तिअनुसार सर्वोच्च अदालतको न्यायाधीशमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी नियुक्त हुनुभएको छ।
नवनियुक्त न्यायाधीशमध्ये डा. बागचन्द यसअघि उच्च अदालत पोखराको मुख्य न्यायाधीश हुनुहुन्थ्यो। यस्तै, सारु उच्च अदालत पाटन, पाण्डे उच्च अदालत पाटनको हेटौँडा इजलास र डाँगी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा न्यायाधीशका रूपमा कार्यरत हुनुहुन्थ्यो।







