काठमाडौं । प्रविधि कम्पनी एनभिडियाका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङलाई चिनियाँ जासुस भएको आशङ्का गरिएकी महिलासँगको कथित सम्बन्धबारे बयान दिन अमेरिकी सिनेट समितिले बोलाएको छ। संवेदनशील एआई चिप निर्यातका विषयमा छानबिनको घेरामा रहेका अमेरिकी वाणिज्यमन्त्री होवार्ड लटनिकलाई पनि आगामी डिसेम्बरमा सिनेटको बैंकिङ समितिसमक्ष उपस्थित हुन पत्राचार गरिएको छ।

समितिका अध्यक्ष सिनेटर टिम स्कटले बिहीबार दुवै जनालाई पत्र पठाउँदै राष्ट्रिय सुरक्षा र संवेदनशील प्रविधिको संरक्षणबारे अमेरिकी जनताले जवाफ पाउनुपर्ने उल्लेख गर्नुभएको छ। हुआङलाई डिसेम्बर ३ मा सिनेट समितिमा र डिसेम्बर १ मा प्रतिनिधिसभाका गुप्तचर, विदेश मामिला तथा चीनसम्बन्धी तीन समितिमा उपस्थित हुन भनिएको छ।
सिंगापुरस्थित कम्पनीकी कार्यकारी एलिस हुआङ र एनभिडियाकै उच्च अधिकारी किम्बर्ली पावेलसँग विवाहबाह्य सम्बन्ध रहेको विवरण सार्वजनिक भएपछि हुआङ विवादमा तानिनुभएको हो। यद्यपि, अमेरिकी महान्यायाधिवक्ता टोड ब्लान्चेले एलिस हुआङ जासुसी गतिविधिमा संलग्न थिइन् वा थिइनन् भन्ने विषयमा न्याय मन्त्रालयले अझै निष्कर्ष ननिकालेको स्पष्ट पार्नुभएको छ।

यस विवादसँगै पाँच दिनमै एनभिडियाको सेयर बजार मूल्य ५५० अर्ब अमेरिकी डलरले घटेको छ, जुन कम्पनी सार्वजनिक भएयताकै ठूलो गिरावट हो। हुआङले नेतृत्व छाडेपछि बिहीबार कम्पनीकी प्रमुख वित्तीय अधिकृत कोलेट क्रेसलाई अन्तरिम सीईओ नियुक्त गरिएको छ भने कम्पनीले स्थायी सीईओको खोजीसमेत सुरु गरेको छ।






