काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको मिति एक दुई दिनभित्रै घोषणा हुने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको निमन्त्रणामा हुन लागेको भ्रमणका एजेन्डालाई अन्तिम रूप दिन परराष्ट्र मन्त्रालयले छलफल तीव्र पारेको हो।
परराष्ट्रमन्त्री शिशिर खनाल कोप सम्मेलनबाट फर्किएलगत्तै तयारी अघि बढाइएको मन्त्रालयले जनाएको छ। प्रवक्ता लोकबहादुर क्षेत्रीले एजेन्डा र मितिलगायत विस्तृत विवरण उपयुक्त समयमा सार्वजनिक गरिने बताए।
भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीबिच एकल वार्तासँगै जनकपुर अयोध्या रेलवे सेवाको संयुक्त उद्घाटन र काभ्रेस्थित प्रहरी प्रशिक्षण केन्द्रको उद्घाटन हुने सम्भावना छ। यस्तै रेलवे, सिधा हवाई उडान, पूर्वाधार निर्माण, व्यापार तथा पारवहन, ऊर्जा सहकार्य र भोटेकोशी हिमबाढीपछिको पुनर्निर्माणमा सहयोगबारे छलफल हुनेछ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग भारतीय राजदूतको भेटपछि ऊर्जा सहकार्यका पहल अघि बढेका छन्। भ्रमणमा सानो सरकारी टोलीसँगै उद्योगी व्यापारीको छुट्टै समूह पनि भारत जानेछ।
पूर्वपरराष्ट्र सचिव डाक्टर मदनकुमार भट्टराईले भने औपचारिकतामा सीमित नभई नेपालमा पाँच सात वटा उद्योग खोल्ने, लगानी भित्र्याउने तथा कृषि र ऊर्जामा ठोस सहमति गर्न सुझाव दिएका छन्।






