कञ्चनपुर । कञ्चनपुर र कैलालीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बुधबार राति भएका तीन फरक दुर्घटनामा मोटरसाइकल चालक, ट्याक्टर चालक र मोटरसाइकलमा पछाडि सवार एक युवकको ज्यान गएको हो ।
प्रहरीका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका–१, बलभद्रबस्तीमा बोलेरो जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बेलडाँडी गाउँपालिका–३ का ३१ वर्षीय सुनिल रानाले चलाएको बोलेरोले ठक्कर दिँदा मोटरसाइकल चालक बेलौरी नगरपालिका–३, पडाउका ३५ वर्षीय राजकुमार राना गम्भीर घाइते भएका थिए । उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल पुर्याइएका उनको उपचारकै क्रममा मृत्यु भएको हो ।
यस्तै, कञ्चनपुरकै लालझाडी गाउँपालिका–३, बल्मीमा बुधबार राति करिब ११ बजे ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा पुनर्वास नगरपालिका–८, खड्डाका ३३ वर्षीय अजय राना ट्याक्टरको सिटमुनि च्यापिएको अवस्थामा मृत फेला परेका थिए ।
यता, कैलालीको गोदावरी नगरपालिका–४, शान्तिटोलमा बुधबार राति करिब २ः३० बजे मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार सोही ठाउँका २३ वर्षीय सागर साउदको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सामान्य घाइते भएका मोटरसाइकल चालक गोदावरी–४ कै २४ वर्षीय किशोर साउदको उपचार भइरहेको छ ।






