काठमाडौं । सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने दीर्घकालीन लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रणको ढाँचा तयार पार्ने प्रक्रिया अघि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलविद्युत्सँगै सौर्य, वायु तथा अन्य वैकल्पिक ऊर्जा स्रोतबाट उत्पादन हुने विद्युत्को अनुपात निर्धारण गर्ने गरी नयाँ ढाँचा बनाउन थालेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराभक्त श्रेष्ठको निजी सचिवालयका अनुसार नयाँ ऊर्जा मिश्रणको ढाँचा तयार भएपछि लामो समयदेखि प्रभावित विद्युत् खरिद सम्झौता (पिपिए) प्रक्रिया पुनः सञ्चालन गर्न सहज हुनेछ । तयार भइरहेको ढाँचामा नदी प्रवाही, अर्धजलाशययुक्त, जलाशययुक्त, पम्प स्टोरेज, सौर्य, वायु तथा अन्य वैकल्पिक ऊर्जा स्रोतको हिस्सा स्पष्ट रूपमा निर्धारण गरिनेछ ।
हाल नेपालको कुल जडित विद्युत् उत्पादन क्षमता चार हजार २०० मेगावाट छ, जसमा नदी प्रवाही जलविद्युत् आयोजनाको हिस्सा ठुलो छ । वर्षायाममा अधिक र हिउँदमा न्यून उत्पादन हुने मौसमी असन्तुलन घटाउन तथा भारतबाट हुने हिउँदे विद्युत् आयात प्रतिस्थापन गर्न ऊर्जा स्रोतको विविधीकरण आवश्यक देखिएको मन्त्रालयले जनाएको छ । यसअघि १५ हजार मेगावाट उत्पादन लक्ष्यका आधारमा ऊर्जा मिश्रण तय गरिएको थियो ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार हालसम्म ४०४ नदी प्रवाही आयोजनासँग छ हजार ७१३.४४ मेगावाट, ५१ अर्धजलाशययुक्त आयोजनासँग चार हजार १८६.८१ मेगावाट र एउटा जलाशययुक्त आयोजनासँग १४० मेगावाटको पिपिए भइसकेको छ । यद्यपि, गत आर्थिक वर्षको बजेटमा नदी प्रवाही आयोजनामा ‘टेक एन्ड पे’ व्यवस्था लागू भएपछि नदी प्रवाही र अर्धजलाशययुक्त दुवै प्रकृतिका आयोजनाको पिपिए प्रक्रिया रोकिएको छ । हाल २८१ आयोजनाका कुल १६ हजार ४२५.७७ मेगावाट क्षमताका आयोजना पिपिएको प्रतीक्षामा छन् ।
पिपिए नहुँदा बैंक तथा वित्तीय संस्थाबाट लगानी जुटाउन समस्या भइरहेकाले नयाँ ऊर्जा मिश्रणको ढाँचाले निजी क्षेत्रको लगानी र निर्माण प्रक्रियालाई गति दिने अपेक्षा गरिएको छ । यद्यपि, ३० हजार मेगावाट उत्पादन लक्ष्य हासिल गर्न उत्पादन विस्तारसँगै आन्तरिक खपत वृद्धि, प्रसारण लाइन निर्माण र भारत तथा बङ्गलादेशसँगको अन्तरदेशीय विद्युत् व्यापार विस्तारलाई सँगसँगै अघि बढाउनुपर्ने चुनौती रहेको विज्ञहरूको भनाइ छ ।






