रसुवा । सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५, गोल्जुङबेसीबाट सुरु गरेको छ । बाढीमा श्रीमान् गुमाएकी २९ वर्षीया सुत्केरी र उनकी नवजात छोरीलाई आर्थिक सहायता प्रदान गर्दै बिहीबारदेखि उक्त योजना कार्यान्वयनमा ल्याइएको हो ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले पीडित महिलाको बैङ्क खातामा पहिलो महिनाको १७ हजार पाँच सय रुपियाँ दाखिला गरी योजनाको शुभारम्भ गरिन् । योजनाअन्तर्गत ती बालिकाले १८ वर्ष उमेर पूरा नगरेसम्म परिवारसँगै रहेर मासिक १७ हजार पाँच सय रुपियाँ सहायता पाउनेछिन् ।
बाढीमा आमाबुबा गुमाएका, अभिभावक बेपत्ता भएका तथा विशेष संरक्षणको आवश्यकता रहेका बालबालिकालाई परिवारमै राखेर दीर्घकालीन भरणपोषणको व्यवस्था गरिने मन्त्री वादीले बताइन् । स्थानीय तहको सिफारिस तथा राष्ट्रिय बाल अधिकार परिषद्को समन्वयबिना सहयोगका नाममा कुनै पनि व्यक्ति वा संस्थाले प्रभावित बालबालिकालाई आफूखुसी बालगृह वा अन्यत्र लैजान नपाउने उनले स्पष्ट पारिन् ।
राष्ट्रिय बाल अधिकार परिषद् र शेष घलेद्वारा सञ्चालित एमआइटिजीएफको सहकार्यमा उच्च जोखिममा रहेका बालबालिका, गर्भवती तथा सुत्केरीलाई लक्षित गरी यो विशेष सहायता कार्यक्रम सञ्चालन गरिएको हो । परिषद्का सदस्यसचिव शान्तकुमारी भण्डारीको नेतृत्वमा खटिएको टोलीले गरेको स्थलगत अध्ययनका क्रममा गोल्जुङबेसीकी सुत्केरी र नवजात शिशुको अवस्था उच्च जोखिमपूर्ण देखिएपछि तत्काल सहायता उपलब्ध गराइएको हो ।
मन्त्री वादीका अनुसार हालसम्म ८१० जना बालबालिकाको दीर्घकालीन स्याहारका लागि साझेदार संस्थामार्फत सहयोग सुनिश्चित गरिएको छ, जसमा एसओएस चिल्ड्रेन भिलेजमार्फत ६५०, एमआइटिजीएफमार्फत १५० र प्रविना फाउन्डेसनमार्फत १० जना बालबालिका समेटिएका छन् । प्रभावित बालबालिकाको संरक्षण तथा स्याहारका लागि नेपाल सरकार र एमआइटिजीएफबिच ५८ करोड रुपियाँ बराबरको सम्झौता भइसकेको तथा मन्त्रालयको बालकोषमा सात करोड रुपियाँ रहेको मन्त्रालयले जनाएको छ ।






