हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, चालक घाइते

प्रकाशित मिति:
spot_img

काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४, कर्रास्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा हेटौँडा–४, श्रमिक टोल निवासी ६४ वर्षीया लक्ष्मीदेवी पाठकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार बिहीबार साँझ पशुपतिनगरबाट कर्रातर्फ आउँदै गरेको बा प्र ०३–००५ प ५१४९ नम्बरको मोटरसाइकल घरतर्फ मोड्ने क्रममा अनियन्त्रित भई सडकमा लडेको थियो । सोही क्रममा विपरीत दिशाबाट आउँदै गरेको ना ८ ख ११६१ नम्बरको खाली डिब्बा ट्रकको बायाँतर्फको पछाडिको चक्काले सडकमा लडेकी पाठकलाई किचेको थियो ।

गम्भीर घाइते भएकी पाठकलाई प्रहरीले उद्धार गरी हेटौँडा अस्पताल पुर्‍याएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा मोटरसाइकल चालक मृतकका श्रीमान् ७० वर्षीय श्यामप्रसाद पाठकको दाहिने खुट्टामा चोट लागेको छ । उनको हेटौँडा अस्पतालमै उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले दुर्घटनामा संलग्न ट्रक र चालक हेटौँडा–१३, पदमपोखरीका ४४ वर्षीय मनराज थोकरलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

spot_img

ताजा समाचार