निर्मला हत्या काण्डका तीन वर्षः ‘अब त न्याय पाउँने आशा मरिसक्यो’

महेन्द्रनगर बलत्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्त हत्या प्रकरणको आज तीन वर्ष पुगेको छ । २०७५ साल साउँन १० गते साथीको घरबाट बेपत्ता भएकी निर्मलाको शव भोलीपल्ट (साउँन ११ गते) घरनजिकैको उखुबारीमा भेटिएको थियो । उक्त घटनाको तीन वर्ष वितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । घटना भएदेखी हालसम्म थुप्रै अनुसन्धान टोली गठन भए,थुप्रै नेता,समाजसेवी,महिला अधिकारकर्मीहरुले निर्मलालाई न्याय दिलाउने आश्वासन परिवारलाई दिए ।

तर अहिले सम्म निर्मला र निर्मलाको परिवारले न्याय पाउन भने सकेका छैनन् । निर्मलाको न्यायका लागि देशभरी प्रदर्शन गरियो,धेरै जना आन्दोलनका क्रममा घाईते भए र एकजनाको ज्यान समेत गयो । यो विचमा जिल्लामा पाचँ जना प्रहरी उपरिक्षक (एसपी) र सात जना प्रमुख जिल्ला अधिकारी समेत परिवर्तन भए,नयाँ आउने सबैले निर्मलाको हत्यारालाई कारर्वाही गर्ने आश्वासन दिए तर त्यो आश्वासनमै सिमित रह्यो ।

तीन वर्ष सम्मपनि हत्यारा पत्ता नलाग्दा निर्मलाको परिवारले न्याय पाउने आश नै मारिसक्यो । ‘निर्मलाको हत्या भएको तीन वर्ष पुग्यो, तर मेरो छोरीका हत्यारा अझै पत्ता लागेका छैनन् ।’ निर्मलाकी आमा दुर्गा देवी पन्तले भनिन् ‘तीन वर्ष सम्म त्यती बेलाका प्रधानमन्त्री सहित,अरु नेता,अधिकारकर्मीहरु,प्रहरी सबैले निर्मलाका हत्यारालाई कारर्वाही गर्छौ,हत्यारा उम्कन पाउदैन भनेर आश देखाए तर अहिले तीन वर्ष वितिसक्दा पनि हत्यारा पत्ता नलाग्दा हामीमा न्याय पाउँने आश नै मरिसकेको छ ।’ उनले अगाडी थपिन् ‘मान्छेका तीन/चार महिनामै हत्यारा पत्ता लाग्छन्, तर मेरी छोरीको हत्या भएको तीन वर्ष वितिसक्दा पनि केही पत्ता लाग्न सकेको छैन् । त्यसैले अब त हत्यारा पत्ता लाग्ला भन्ने आश नै छैन, प्रहरीले धेरै घटना १२ वर्ष पछि पनि पत्ता लागेका छन्, निर्मलाका हत्यारापनि एकदिन पत्ता लाग्छन् भन्छन्, तर खै ? आश मरिसक्यो ।’

निर्मलाकी आमा दुर्गा देवी पन्त

उनकाअनुसार यहाँ केहीले निर्मलाको हत्यारा ठुलो मान्छे हो,केहीले दिलिप विष्ट हो भन्दै टिकाटिप्पणी गरिहरेका छन् । तर आफुलाई ठुलै मान्छे भएपनि वा दिलिप नै भएपनि कसैसंग केही रिसिवि छैन जो भएपनि वास्तविक हत्यारा हुनु पर्यो । प्रमाण सहित वास्तविक हत्यारा मात्रै सार्वजनिक गर्न र छोरीलाई न्याय दिन नेपाल सरकार र प्रहरी संग आफ्नो माग रहेको निर्मलाकी आमा दुर्गाले बताइन् ।

‘कोही ठुलो मान्छे हो भन्छन् कोही दिलिप नै हो भन्छन् । मलाईपनि दिलिपको भिडियो हेर्दा उँ जस्तै लागेको हो ।’ उनले भनिन् ‘दिलिपको भन्दा बलियो प्रमाण सहित प्रहरीले हत्यारालाई सार्वजनिक गर्छ भने म दिलिपलाई माफी माग्छु ।’ दिलिप विष्टलाई प्रहरीले अभियुक्त रुपमा सार्वजनिक गरेको थियो,पछि उनको डिएनए नमिलेपछि उनलाई छाडिएको थियो । ‘मलाई त हत्यारा पत्ता लाग्ला भन्ने आश मरिसक्यो ।’ निर्मलाकी आमा दुर्गाले भनिन् ‘प्रहरीले अझै अनुसन्धान गरिरहेका छन् । त्यसैले अब प्रहरी तथा नेपाल सरकार संग म के भन्न चाहन्छु भने मेरो छोरीको प्रमाण सहित वास्तविक हत्यारालाई मात्रै कारर्वाही गर्नु होला,अरु निर्दोषले सजाय नपाओस्,अनुसन्धान निष्पक्ष होस् र हत्यारा जो भएपनि मलाई केही छैन । हामीलाई न्याय मात्रै चाहिएको छ ।’

के गर्दै छ प्रहरी ?

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवत्ता एवम् प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपाने निर्मला हत्या प्रकरणमा १५÷१६ जना प्रहरीको विषेश टोली सक्रिय रहेको बताउँछन् । ‘जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, प्रदेश प्रहरी र राष्ट्रिय अनुसन्धान ब्युरोको सयुक्त टोलीे निर्मला हत्याको घटना अनुसन्धानमा दिनरात खटिरहेकोे छ,’ उनले भने, ‘घटनाको धेरै कोणबाट अनुसन्धान भइरहेको छ ।

अनुसन्धान कहाँ पुग्यो, कती प्रगति भएको छ भनेर अहिले नै भन्न मिल्दैन । तर अनुसन्धान जारी छ ।’ ‘अपराध अनुसन्धानमा भौतिक निर्माणमा हुने प्रगति जस्तो ५० प्रतिशत,८० प्रतिशत,१०० प्रतिशत काम सम्पन्न भयो भन्ने जस्तो हुँदैन्,’ डिएसपी न्यौपानेले भने, ‘भौतिक निर्माणमा त निश्चित प्रतिशत प्रगति भयो भन्न सकिन्छ । तर अपराध अनुसन्धानमा दोषीलाई पक्राउ गरेर सार्वजनिक गर्दा शत प्रतिशत प्रगति देखिन्छ । त्यो अगाडिसम्म प्रगति शून्य नै भनिन्छ ।’ प्रहरीले निर्मला हत्याको एकदमै सिरियस भएर अनुसन्धान गरिहेको डिएसपी न्यौपानेले बताए । ‘प्रहरीले निर्मला केसलाई धेरै नै सिरियस रुपमा अनुसन्धान गरिहरको छ ।’ डिएसपी न्यौपानेले भने ‘निर्मलाका हत्यारा उम्कन भने पाउदैन ढिलो चाँडा पत्ता लाग्छ ।’

‘अझै पनि त्यो बाटो हिड्न डर लाग्छ’

निर्मला पन्तको शव भेटिएको उखुबारी निर्मलाको घरदेखी महेन्द्रनगर बजार जाने प्रमुख बाटोको छेउमै पर्छ । अहिले उक्त खेतमा उखु हटाएर धान लगाइएको छ । उल्टाखामवासीको महेन्द्रनगर आउजाउ हुने प्रमुख बाटोमै बलात्कार पछि हत्या गरिएकी निर्मलाको शव भेटिएपछि त्यो बाटो एक्लै हिड्न त्यहाँका चेलीबेटी अझैपनि डराउछन् । ‘म विद्यालय जाने आउने बाटो त्यही हो ।’ निर्मलाकी दिदिले भनिन् ‘ बहिनीको हत्या भएयता त्यो बाटोमा एक्लै आउन जान अझैपनि डर लाग्छ ।’उनले अगाडी थपन् ि‘मेरो बहिनीका हत्यारा अझैपनि खुला रुपमा घुमिरहेका छन्,त्यसैले एक्लै त्यो हिड्न डर लाग्छ ।’

‘प्रधानमन्त्री पनि परिवर्तन भए,अब हत्यारा पत्ता लाग्ला की ?’

सुदुरपश्चिमकै शेर बहादुर देउवा प्रधानमन्त्री भएका छन् । अब निर्मलाका हत्यारा पत्ता लाग्छन् की ? जस्तो आफुलाई लागेको निर्मलाकी आमाले बताइन् । ‘हाम्रै ठाउँका प्रधानमन्त्री भएका छन् ।’ निर्मलाकी आमा दुर्गाले भनिन् ‘उहाँले पत्ता लगाउन सक्नु हुन्छ की ? जस्तो लागेको छ ।’ उनले अगाडी थपिन् ‘उहाँले पत्ता लगाएपछि उहाँलाई म जिन्दगी भरी सम्मान र उहाँको राम्रो होस् भनेर भगवान संग प्रथाना गर्ने थिए । तर खै पत्ता लगाउछन् की नाई ? मनमा केही आशा भने पलाएको छ’

ताजा समाचार