बहुविवाह गरी फरार रहेका वडासदस्य पक्राउ

उदयपुर- बहुविवाह मुद्दामा फरार रहेका उदयपुरका एक वडासदस्य काठमाडौंको थानकोटबाट पक्राउ परेका छन् । सप्तरीको सप्तकोसी नगरपालिका ५ गंगाजलीकी ३२ वर्षीया रमा कोईरालासँग २०७६ चैत्र ११ गते दोस्रो विवाह गरी फरार रहेका चौदण्डीगढी नगरपालिका ७ का ४९ वर्षीय वडासदस्य हरिमान कट्वाललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले दुबैजनालाई विवाह गरी लुकीछिपीसँगै बसेको अवस्थामा थानकोटबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ल्याएको डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए । पक्राउ परेका दुबैजनालाई बुधबार अड्डासार गर्दै जिल्ला प्रहरी कार्यालय ल्याएकोमा अदालतले हरिमानलाई पुर्पक्षका लागि कारागार पठाएको छ भने कोइराला ५५ हजार धरौटी बुझाएर तारिखमा छुटेकी छिन् ।

अदालतका न्यायाधीश माधवप्रसाद सुबेदीले २०७७ चैत्र ३ गते फरार आरोपित हरिमानलाई पुर्पक्ष र कोईरालालाई धरौटीमा रिहा गर्ने गरी मुद्दा मुल्तवीमा राख्ने निर्णय गरेको थियो ।

जिल्ला अदालतबाट फैसला भएका मुद्दामा कैद तथा जरिवाना असुल उपर गर्ने फरार प्रतिवादी पक्राउ अभियान अन्र्तगत पक्राउ परेका दुबै जनालाई बिहीबार नै प्रहरीले अदालतमा बुझाएको हो ।

घरमा श्रीमती छदै कोइरालालाई लिएर हरिमान फरार भएपछि उनीहरुविरुद्ध परिवारले २०७७ वैशाख १२ गते इलाका प्रहरी कार्यालय बेल्टारमा उजुरी दिएका थिए । कटुवालकी कान्छि पत्नि बनेकी कोइराला श्रीमानलाई छोडेर हरिमानसँग विवाह गरी फरार भएकी थिइन् ।

त्यसैगरी जबरजस्तीकरणी उद्योगमा फरार रहेका चौदण्डीगढी नगरपालिका ८ सिद्धिपुर बस्ने ४१ वर्षीय विजय थुलुङ राईलाई प्रहरीले साँढे चार वर्षपछि पक्राउ गरेको छ । ३० वर्षीया महिलालाई ०७३ माघ १८ गते बलात्कारको प्रयास गरी फरार रहेका उनलाई प्रहरीले बिहीबार आफ्नै घरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका राई प्रहरीले जिल्ला अदालतमा उपस्थित गराई पुर्पक्षका लागि कारागार पठाएको छ । आरोपितविरुद्ध पीडित परिवारले माघ १९ गते इलाका प्रहरी कार्यालय बेल्टारमा उजुरी दिएको थियो ।

ताजा समाचार