काठमाडौँ । सरकारले गत साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएको विद्युतीय सवारी चालक अनुमतिपत्र तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत नयाँ लाइसेन्स छपाइको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले लामो समयदेखि थुप्रिएको लाइसेन्स छपाइ समस्या समाधान गर्न नयाँ प्रणाली पूर्ण रूपमा सञ्चालनमा ल्याएको हो।
नयाँ व्यवस्थाअनुसार ईडीएलभीआरएस प्रणालीमा प्रविष्ट भएको सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रण केन्द्रमा पुग्नेछ। केन्द्रले कार्ड छपाइ गरी हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउने प्रबन्ध मिलाइएको छ। पहिलो चरणमा मधेस प्रदेशका तीन हजार ८१ वटा अनुमतिपत्र छपाइ गरी सम्बन्धित कार्यालयतर्फ पठाइसकिएको विभागले जनाएको छ।
प्रदेश सरकारहरूले सुरक्षण मुद्रणसँग सम्झौता गरेर आफ्नै व्यवस्थापनमा समेत लाइसेन्स छाप्न सक्ने नीति लिइएको छ। सोही आधारमा मधेसपछि लुम्बिनी प्रदेश सरकारले पनि सुरक्षण मुद्रणसँग सम्झौता गरी छपाइको प्रक्रिया थालेको छ। प्रदेशले सम्झौता नगरेको अवस्थामा भने यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रणको प्रत्यक्ष समन्वयमा छपाइ निरन्तर रहनेछ। यस व्यवस्थाले नयाँ लाइसेन्स लिन तथा नवीकरण गर्न वर्षौँ कुर्नुपर्ने झन्झट अन्त्य हुने मन्त्रालयको विश्वास छ।




