उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–२, डाँडागाउँमा घरायसी विवादका क्रममा श्रीमान्ले धारिलो हतियार प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ।
गएराति करिब साढे १२ बजे मादक पदार्थ सेवन गरेका ५८ वर्षीय गन्दुराम राईले घरायसी विवाद हुँदा आफ्नै श्रीमती ४५ वर्षीया बिमला राईको गर्दनमा सिकल (घाँस काट्ने हँसिया) ले प्रहार गरेका थिए। हतियार प्रहारबाट गम्भीर घाइते भएकी बिमलालाई अस्थायी प्रहरी पोस्ट माडिबासबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी नगर अस्पताल बेल्टार पुर्याएको थियो। उनको उपचारकै क्रममा राति सवा एक बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
श्रीमतीमाथि आक्रमण गरेपछि गन्दुराम आफैँ अस्थायी प्रहरी पोस्ट माडिबासमा पुगेर घटनाबारे जानकारी गराएका थिए। उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेल्टारमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।




