‘फोन नम्बर लिक भएपछि विदेश गएँ’

मुम्बई- बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान् तथा व्यवसायी राज कुन्द्रा पोर्न भिडियो बनाउने र बेच्ने गरेको आरोपमा पक्राउ परेपछि उनका विषयमा विभिन्न कलाकारहरूले प्रतिक्रिया जनाउन थालेका छन्।

यसैक्रममा मोडल तथा बलिउड नायिका पुनम पाण्डेले पनि राज कुन्द्राले आफूलाई शारीरिक तथा मानसिक शोषण गरेको खुलासा गरेकी छन्। राज कुन्द्रा र उनको कम्पनीले भने अनुसार काम गर्न नमान्दा उनको निजी फोन नम्बर लिक गरिदिएका कारण पुनमले निकै ठूलो झन्झट बेहोर्नु परेको उनले दाबी गरेकी छन्। उनलाई एक कम्पनीसँग जबरजस्ती सम्झौता गर्न भनिएको थियो।

त्यसलाई पुनमले नमानेपछि उनको फोन नम्बर लिक गरिएको थियो। त्यसपछि उनले प्रहरीमा उजुरी दिए पनि त्यतिबेला केही पनि कारवाही भएन। ‘उनीहरूले मलाई जबरजस्ती सम्झौता गर्न लगाएका थिए। काम गर्ने क्रममा आफूमाथि गलत भइरहेको थाहा पाएपछि मैले सम्झौता रद्द गर्न खोजेको थिएँ। तर, उनीहरूले सम्झौता रद्द गर्न दिएनन्’, पुनमले भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै भनेकी छन्, ‘मलाई धम्की दिएर अर्को सम्झौतामा पनि हस्ताक्षर गर्न बाध्य पारियो। जहाँ मैले उनीहरूको इच्छा अनुसार भिडियो सुट गर्न र पोज दिनुपर्ने थियो। मैले त्यस्तो काम नगरेमा मेरो सम्पूर्ण

गोप्य कुराहरू लिक गरिदिने धम्की दिइएको थियो। मैले सम्झौतामा हस्ताक्षर गर्न नमानेपछि एउटा एपमार्फत मेरो निजी नम्बर लिक गरिदिएका थिए।’आफ्नो फोन नम्बर सार्वजनिक भएपछि यौन प्रस्तावलगायत थुप्रै फोन र एसएमएस आउन थालेको बताएकी छन्। लगातारको फोन र एसएमएसबाट मुक्ति पाउन उनले तीन महिना देश नै छाड्नु परेको बताएकी छन्। भारत फर्किएपछि पनि यस्तै समस्या आएपछि मोबाइल नम्बर नै परिवर्तन गरेको पुनमले बताएकी छन्।

राज कुन्द्रालाई सोमबार राति मुम्बई प्रहरीको क्राइम ब्रान्चले पक्राउ गरेको थियो। लामो समयदेखि विभिन्न व्यवसायमा संलग्न राजलाई अश्लिल चलचित्र बनाएर एपमार्फत सार्वजनिक गरेको आरोपमा पक्राउ गरिएको हो। यही वर्षको फेब्रुअरीमा अश्लिल चलचित्र बनाउने र त्यसलाई एपमार्फत सार्वजनिक गरेको विषयमा प्रहरीमा उजुरी परेको थियो। यस विषयमा छानविन गर्दा राज कुन्द्रा मुख्य दोषी पाइएको मुम्बई प्रहरीले जनाएको छ।

ताजा समाचार