अध्यक्ष ओलीले भनेः माधव नेपाल जस्ता देशद्रोहीलाई पार्टीमा ठाउँ छैन

काठमाडौँः नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले वरिष्ठ नेता माधव नेपालका लागि पार्टीमा कुनै ठाउँ नरहेको बताएका छन् ।

वामपन्थीको सरकार ढालेर दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएर नेपालले पार्टीलाई धोका दिएको उनले बताए । एमाले काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपालको कदम कम्युनिष्ट आन्दोलन विरुद्धमा भएको बताए ।

‘आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा नदिने, वामपन्थी सरकार ढाल्ने र दक्षिणपन्थी सरकार बनाउने, विश्वासको मत दिने । कम्युनिष्ट आन्दोलन विरोधी देशद्रोहीलाई पार्टीमा कुनै ठाउँ छैन । फ्लोर क्रस गरेर देउवा नेतृत्वको सरकार बनाउन एक हुल लिएर हिँडे । पार्टी हामी सबैले बनाएका हौँ’अध्यक्ष ओलीले बताए ।

तर नेपाल वाहेकका अरु नेताहरुलाई भने पार्टीमा स्वागत गरेका छन् । बाटो बिराएका अरु सच्चिएर फर्किन सक्ने उनको भनाइ थियो । उनले भनेका छन् ‘आउनुस् यो पार्टी हामी सबै जनाको हो । जो आउँदैन, समय कुर्दैन ।’

नेता नेपाललाई लक्षित गर्दै अध्यक्ष ओलीले दक्षिणपन्थी सरकार बनाएर लोकतन्त्र र संविधानको रक्षा गरेको भ्रम फैलाएको आरोप लगाएका थिए । साथै पार्टीका सबै कार्यकर्तालाई पार्टी एकता र राष्ट्रियताको पक्षमा लाग्न निर्देशन समेत दिएका थिए ।

ताजा समाचार