माधव नेपालले तेस्रो धारका नेताहरुलाई भने- ‘आउने भए आउनुस्, ओली सुध्रनेवाला छैन्’

काठमाडौं । एमाले विभाजित भएपछि तेस्रो धारका नेताहरु अलमलमा परेका छन् । नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि निवेदन दिएका नेता माधव नेपाललाई साथ नदिएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरू अलमलमा देखिएका हुन् ।

उनीहरु न ओलीसँग नै खुलेर लाग्न सके न नेपालतिरै । नेपालले अलग पार्टी दर्ता गर्न जाँदा विगतमा नेपालसँगै रहेका नेताहरु भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई लगायतका नेताहरु सहभागी भएनन् ।

एमाले एकता भन्दै आएका ती नेताहरु अन्योलमै छन् । कतिपय माधव नेपालसँग मिल्नुपर्ने पक्षमा छन् भने कोही ओलीसँगै मिल्नुपर्छ भन्ने मत देखिएको छ ।

योगेश भट्टराई, ठाकुर गैरे लगायतका नेताहरु ओलीसँगै मिल्नुपर्ने पक्षमा छन् भने भीम रावल, घनश्याम भुसाल लगायतका नेताहरु ओलीसँग लुरुक्क परेर जान नहुने तर्क राख्दै आएका छन् ।

तेस्रो धारका नेताहरूले आज विहान एमाले अध्यक्ष केपी ओलीसँग निर्णायक वार्ता गर्न बालकोट पुगेका छन् । उनीहरूले १० बुँदे कार्यान्वयनका लागि मंगलबारसम्मको समय दिएका छन् ।

१४ सांसदलाई एमालेले गरेको कारबाही फिर्ता लिन पनि उनीहरुले माग गरेका छन् । त्यस्तै नयाँ पार्टी गठनको प्रक्रियाबाट पछि हट्न माधव नेपालसँग उनीहरूको माग छ ।

अलमलमा परेका तेस्रो धारका नेताहरुसँग माधव नेपालले सोमबार बिहान फोनवार्ता गरेका छन् । त्यसक्रममा उनले नअल्मलिन र समाजवादीमा समाहित हुन निम्तो दिएको स्रोतको भनाई छ ।

फोनवार्तामा कतिपयले समाजवादीमै लाग्ने बचन दिएका थिए भने केहीले वारपार भएपछि मात्रै कित्ता क्लियर गर्ने बताएका थिए । उनीहरुसँग नेता नेपालले फोनमा भने, ‘अब समय पनि छैन, आउने हो भने आउनुस्, ढिला नगर्नुस्, ओली सुध्रनेवाला छैनन् ।’

ताजा समाचार