काठमाडौैं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल वैदेशिक व्यापारको आकार १५.८८ प्रतिशतले बढेर २४ खर्ब ११ अर्ब ६६ करोड ६९ लाख रुपैयाँ पुगेको छ। भन्सार विभागले सार्वजनिक गरेको वार्षिक तथ्यांकअनुसार वैदेशिक व्यापारको यो आकार हालसम्मकै उच्च हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कुल व्यापार २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख रुपैयाँ बराबरको रहेको थियो।
विभागका अनुसार समीक्षा अवधिमा नेपालको कुल आयात १६.२० प्रतिशतले वृद्धि भई २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा नेपालले १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको थियो।
यसैगरी, आर्थिक वर्ष २०८२/८३ मा निर्याततर्फ पनि सुधार दर्ता भएको छ। समीक्षा वर्षमा नेपालबाट ३ खर्ब १५ अर्ब २९ करोड ४ लाख रुपैयाँ बराबरका वस्तु निर्यात भएका छन्, जुन अघिल्लो वर्षको (२ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ) तुलनामा १३.८१ प्रतिशतले बढी हो। यद्यपि, आयातको दाँजोमा निर्यातको वृद्धिदर धीमा रहँदा व्यापार सन्तुलनमा चाप यथावत् देखिएको छ।
व्यापार घाटा १७ खर्ब ८१ अर्ब नाघ्यो
आयात र निर्यात दुवैमा वृद्धि भए पनि आयातको परिमाण ठूलो भएका कारण वैदेशिक व्यापार घाटा थप चुलिएको छ। समीक्षा अवधिमा कुल व्यापार घाटा १६.६३ प्रतिशतले बढेर १७ खर्ब ८१ अर्ब ८ करोड ८५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो घाटा १५ खर्ब २७ अर्ब ९ करोड २५ लाख रुपैयाँ रहेको थियो।
तथ्यांकअनुसार आयात र निर्यातको अनुपातमा पनि सामान्य वृद्धि भएको छ। अघिल्लो वर्ष ६.५१ रहेको यो अनुपात गत आर्थिक वर्षमा २.१० प्रतिशतले बढेर ६.६५ पुगेको छ। यसको अर्थ नेपालले १ रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसा बराबरको वस्तु आयात गर्ने गरेको देखिन्छ।
यसैगरी, कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १.७९ प्रतिशतले घटेर १३.०७ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्ष १३.३१ प्रतिशत थियो। अर्कोतर्फ, कुल व्यापारमा आयातको हिस्सा भने ०.२७ प्रतिशतले बढेर ८६.९३ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यो हिस्सा ८६.६९ प्रतिशत रहेको थियो।
वैदेशिक व्यापारको संक्षिप्त परिदृश्य (आ.व. २०८१/८२ र २०८२/८३)
| सूचक | आ.व. २०८१/८२ | आ.व. २०८२/८३ | परिवर्तन (%) |
| कुल वैदेशिक व्यापार | रु. २० खर्ब ८१ अर्ब १५ करोड | रु. २४ खर्ब ११ अर्ब ६६ करोड | +१५.८८% |
| कुल आयात | रु. १८ खर्ब ४ अर्ब १२ करोड | रु. २० खर्ब ९६ अर्ब ३७ करोड | +१६.२०% |
| कुल निर्यात | रु. २ खर्ब ७७ अर्ब ३ करोड | रु. ३ खर्ब १५ अर्ब २९ करोड | +१३.८१% |
| कुल व्यापार घाटा | रु. १५ खर्ब २७ अर्ब ९ करोड | रु. १७ खर्ब ८१ अर्ब ८ करोड | +१६.६३% |
| आयात-निर्यात अनुपात | १ : ६.५१ | १ : ६.६५ | +२.१०% |




