क्रियाशील सदस्यता विवाद समाधान समितिले सभापति देउवालाई आज साँझ प्रतिवेदन बुझाउने

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवाद टुंगिएको दाबी गरिएको छ । क्रियाशील सदस्यताको विवाद टुंगो लगाउन गठित नेता कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समितिले विवाद समाधान गरेको हो ।

पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसंग छलफल गरेपछि विवाद समाधान भएको समितिका सदस्यहरुले बताएका छन् ।

हिजै सभापति देउवालाई सहमतिको प्रतिवेदन बुझाउने बताइए पनि हिजो समितिले प्रतिवेदन बुझाएन । आज साँझ पाँच बजेसम्म सभापतिलाई प्रतिवेदन बुझाउने बताइएको छ ।

बारा, सप्तरीलगायत छ जिल्लाका १३ वटा निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यताको विवाद थियो । यसअघि रमेश लेखकको संयोजकत्वमा रहेको क्रियाशील सदस्यता विवाद समाधान समितिले देशभरका १५० भन्दा बढी वडामा देखिएको विवादमा १३औं महाधिवेशनको क्रियाशील सदस्यतालाई आधार मान्ने गरी मिलाएको थियो ।

तर बारा र सप्तरी लगायतका जिल्लामा देखिएको विवाद मिलाउन नेतात्रयलाई जिम्मा दिइएको थियो । कांग्रेसको १४औं महाधिवेशन आगामी मंसीर ९ देखि १३ गतेसम्मका लागि तय गरिएको छ । सो कार्यतालिका प्रभावित हुन नदिन भदौ १८ देखि वडाको अधिवेशन गर्नुपर्ने हुन्छ ।

ताजा समाचार