काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले रसुवा बाढीले मुलुकको अर्थतन्त्रमा पारेको प्रभाव विश्लेषण गर्न तथा जलवायु वित्तसम्बन्धी आवश्यक सुझाव सरकारलाई दिन अध्ययन उपसमिति गठन गरेको छ।
सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले सांसद सुशील खड्काको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको हो। उपसमितिका सदस्यहरूमा सांसदहरू नरेन्द्रकुमार केरुङ, परशुराम तामाङ, पुष्प चौधरी, प्रा. डा. पुष्पराज कँडेल, लिमा अधिकारी र सुशान्त वैद्य रहेका छन्।
समितिका सभापति डा. कृष्णहरि बुढाथोकीका अनुसार उपसमितिलाई सम्बन्धित मन्त्रालय तथा विभिन्न निकायहरूसँग समन्वय गरी अध्ययन प्रतिवेदन तयार पार्ने र आगामी असोज २ गतेभित्र बुझाउने समयावधि तोकिएको छ।
प्रधानमन्त्री बालेन शाह आगामी असोज ६ गते संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जान लागेकाले सो भ्रमणअघि नै समितिको बैठक बसेर सरकारलाई जलवायु वित्त र पुनर्निर्माणका विषयमा आवश्यक निर्देशन तथा सुझाव दिने तयारी गरिएको सभापति बुढाथोकीले जानकारी दिए। बैठकमा सांसदहरूले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि आवश्यक आर्थिक स्रोतको व्यवस्थापन कसरी गरिन्छ भन्ने विषयमा चासो राखेका थिए।




