भारतीय बजारमा चिनी महँगिँदा सीमावर्ती क्षेत्रका उपभोक्ता मारमा

प्रकाशित मिति:

महेन्द्रनगर । भारतीय बजारमा चिनीको मूल्य बढेपछि त्यसको प्रत्यक्ष असर सुदूरपश्चिमका सीमावर्ती क्षेत्रका उपभोक्तामा परेको छ। पछिल्ला केही सातायता भारतीय बजारमा मूल्य वृद्धि भएपछि सीमावर्ती नेपाली बजारमा चिनीको मूल्य प्रतिकिलो १३० देखि १४० रुपियाँसम्म पुगेको छ।

विगतमा भारतीय बजारबाट ल्याइएको चिनी प्रतिकिलो ९० रुपियाँमा किन्दै आएका उपभोक्ता अहिले एकैपटक प्रतिकिलो ४० देखि ५० रुपियाँसम्म बढी मूल्य तिर्न बाध्य भएका छन्। मूल्य अस्वाभाविक रूपमा बढेपछि कतिपय उपभोक्ताले चिनीको उपभोग नै घटाएको बताएका छन्। कलकत्ताका स्थानीय व्यापारी मनीराम चौधरीका अनुसार भारतबाट भन्सार तिरेर ल्याइएको चिनीको खरिद मूल्य नै बढेकाले स्थानीय बजारमा महँगोमा बिक्री गर्नुपरेको हो।

कञ्चनपुरमा हाल दुई ठूला चिनी मिल सञ्चालनमा रहे पनि विगतमा स्थानीय उत्पादनभन्दा भारतीय चिनी सस्तो पर्ने भएकाले यहाँका उपभोक्ता भारतीय बजारमै निर्भर रहँदै आएका थिए। तर, हाल भारतीय चिनी महँगिएपछि स्थानीय उत्पादनको माग बढ्न थालेको छ।

बेलौरी नगरपालिका–१० स्थित महाकाली चिनी मिलका सूचना अधिकारी कालु सिंह ठगुन्नाका अनुसार कच्चा पदार्थको अभाव र उत्पादन लागतका कारण विगतमा नेपाली चिनी भारतीयभन्दा महँगो पर्ने गरेको थियो। यस वर्ष महाकाली चिनी मिलले १ लाख ८३ हजार क्विन्टल चिनी उत्पादन गरेकामा १ लाख २३ हजार क्विन्टल बिक्री भइसकेको छ। आगामी चाडपर्वका लागि ५० हजार क्विन्टल खपत हुने अनुमान गरिएको छ।

उता पुनर्वास नगरपालिकास्थित भागेश्वर चिनी मिलका सूचना अधिकारी डम्मर खड्काले खुला सीमाका कारण विगतमा स्थानीय उत्पादनले बजार नपाएर सुदूरपश्चिमका पहाडी तथा पूर्वी जिल्लामा पठाउनुपरेको बताए। यस पटक भारतमै मूल्य बढेकाले स्थानीय उत्पादनले यहीँ बजार पाउने अपेक्षा गरिएको छ। भागेश्वर चिनी मिलमा यस वर्ष उत्पादित १ लाख ८० हजार क्विन्टलमध्ये हालसम्म १ लाख क्विन्टल बिक्री भइसकेको र ८० हजार क्विन्टल मौज्दात रहेको जनाइएको छ।

ताजा समाचार